कुलपूजा र खीर खाने पूर्णिमा ! • Image Khabar Image Khabar


कुलपूजा र खीर खाने पूर्णिमा !


Imagekhabar
२१ असार २०७७, आईतवार ०९:१८

कुलपूजा र खीर खाने पूर्णिमा !

–गोविन्दप्रसाद पोखरेल

खीर खाने पूर्णिमा । भारद्धाज गोत्रीय पोखरेलले वर्षको एक दिनमात्र खीर खाने चलन हुन्छ । बाँकी दिनमा खाइने ढकनी हो । खीर खाइने कुल पूजामा हो । यो असार महिनाको पूर्णिमा अर्थात् गुरूपूर्णिमाको दिनमा पर्छ । कुलपूजामा विशेष पूजा हुन्छ । वर्षको एक दिन गरिने भएकाले पनि यसको महत्व छ ।

कुललाई भगवानको पूजाभन्दा पनि माथि राखिन्छ । त्यसैले पनि यसको महत्व छ । कुलपूजाको पूजा विधि यो नै भन्ने छैन । विभिन्न गोत्र र सगोत्रीयमा पनि फरक फरक शैलीमा यसको पूजा हुन्छ । अधिकांशले कुलपूजामा देवाली गर्छन् । देवालीमा मारकाट चल्छ । पोखरेलभित्र पनि मारकाट चल्ने गर्दछ । तर गुल्मी धुर्कोट नयाँगाउँ अरौंदीका पोखरेलहरूले सुरूआतदेखि नै खीर खाएको पाइन्छ । अलिकति पृष्ठभूमिमा पुग्नुपर्दा हाम्रा पुर्खा ज्योतिषी । हामी तारू ज्योतिषीका सन्तान । तारू ज्योतिषीबाट मसम्म आइपुग्दा १५ पुस्ता भइसकेको छ ।

यो पुस्ताले खीर नै खाएको पाइन्छ । अरूले काटमार गर्ने चलन रहे पनि हामीले खीर खानुको मतलब हिंसा नगर्ने भन्ने सन्देश नै हो । हिंसाले कुल खुशी हुन्नन् भन्ने तर्क नै हो । यसले सद्भाव पनि बढाएको हुन्छ । देवीलाई चढाउने नाममा मारकाट गर्ने चलन रहेको बुझ्न सकिन्छ ।

के हो खीर र ढकनीबीचको भिन्नता भन्ने प्रश्न उठ्नु स्वभाविकै हो । खीर बनाउँदा दूध तताएर त्यही तातो दूधमा चामल राख्ने गरिन्छ । यो वर्षको एक दिनमात्र हुन्छ भने बाँकी दिनमा ढकनी पकाइन्छ । ढकनी पकाउँदा पकाउने भाँडोमा पहिले घ्यू राखिन्छ । अनि चामल राखेर लामो समय भुटिन्छ । त्यसपछि दूध राखेर पकाइन्छ ।

कुलपूजाको पूजाविधि यो नै भन्ने पुस्तकाकारमा निस्केको छैन । पितापुर्खाले जे गरे त्यो नै चलन हो । सामान्यतया हामीले चतुर्दशीका दिनमा गाईभैंसी हुनेहरूले दूध नखाई राख्ने चलन हुन्छ । त्यो दिनको दूध विरामीलाई पनि खान नदिने नियम छ । विरामीलाई दूध नै चाहिने भयो भने अन्त कतैबाट ल्याएर खुहाउने चलन छ । यसरी जम्मा पारिएको दूधलाई दही बनाइन्छ ।

पूर्णिमाको दिनको बिहान दुहेको दूधलाई भने घरभित्र लैजाने चलन छैन । गोठबाट सीधै कुलपूजा गर्ने गौरामा लगेर पु¥याउने चलन छ । पूर्णिमाको दिनको दूधबाट खीर बनाउने गरिन्छ । गाईको दूध भने गौरामा बनाइने पोखरी भर्ने गरिन्छ । सबैका घरमा भएको चामल लगेर मिसाइन्छ ।

सामान्यतया कुलपूजा गर्दा पंडितहरूले पूजा गर्ने, दोस्रो थरिले धोती लगाएर खीर बनाउने र तेस्रो थरिले मही पार्ने चलन हुन्छ । पोखरेलभित्र पनि क्षत्री बिहे गर्नेका सन्तानहरू एक तह तल झर्ने भएकाले उनीहरूलाई मही पार्न दिने चलन छ । त्यस्ता रहेनछन् भने सबै शुद्ध ब्राम्हणले नै गर्ने गरिन्छ ।

मही पारेर निस्केको घ्यूकै दीयो बालिन्छ । त्यो दिन तेलको दीयो बाल्ने चलन हुँदैन । अनि त्यही घ्यूलाई खीर बनाउन प्रयोग गरिन्छ । पंडितहरूले घरमै पञ्चायनको पूजा गरेर जाने भएकाले गौरामा गएर पञ्चायन पूजा गरिँदैन । त्यहाँ दीयो, कलश र गणेशको पूजा गरेपछि सीधै कुलपूजा हुन्छ । कुलदेवताभ्यो नमः भनेर पूजा गरिन्छ ।

कुलपूजा गर्दा रूखका स्याउला काटेर वरिपरिबाट बारेर गौरो तयार गरिन्छ । अनि त्यसभित्र पोखरीजस्तो बनाइन्छ । त्यो पोखरीको वरिपरि मसुरे कटुशका लिंगा गाडिन्छ । २७ वटा लिंगा गाड्ने गरिन्छ । अनि एक सय आठवटा पातमा खीर, दिउली (मासको रोटी), दही, घ्यू राखेर कुललाई चढाउने गरिन्छ । यो दिन कुलसंगै देवीको पूजा पनि गरिन्छ । देवीलाई खीर नै चढाउने गरिन्छ । देवीलाई चढाउने नाममा केहीले हिंसायुक्त बलि दिने गरेको पाइन्छ । तर हाम्री देवी खीर नै ग्रहण गर्छिन् ।

खीर वर्षको एक दिनमात्र किन खाने त रु अरू दिन किन खान हुन्न रु यसको कुनै यो र त्यो नियम भन्नुभन्दा पनि हरेक चिजको एउटा विशेष दिन हुन्छ । कुलपूजा वर्षको एक दिनमात्र गरिने भएकाले त्यस दिन खाइने खीर पनि एक दिनमात्र खाने चलन भएको हो । त्यसैले त यो दिनलाई व्यास पूर्णिमा पनि भनिएको हो ।

पूजा सकिएपछि कुल र देवीलाई अर्पण गरिएको उक्त खीरसहितको प्रसाद र मही अनि दिउली उपस्थित सबैलाई बाँड्ने गरिन्छ । निर्धक्कसंग थपेर खाने गरिन्छ । विशेषगरी कुलपूजामा घरका पुरूष सदस्यहरू जाने चलन छ । त्यसैगरी बालबालिकाहरू पनि जाने गर्छन् । घरमा पनि रेखदेख गर्नुपर्ने भएकाले महिलाहरू घरको काममा रहने भएकाले उनीहरू नगएको जस्तो लाग्छ । त्यसैगरी घरमा कोही विरामी रहे रेखदेखका लागि बस्नुपर्ने जरूरी छ ।

खीरप्रसाद गैर पोखरेलले खान पाइँदैन । यतिसम्मकि त्यो दिन गौरामा दूध, दही, चामल र मास लैजाँदा बिहे गरेर गएकी छोरीले पनि देख्नुहुँदैन । त्यस्तै भाञ्जाभाञ्जी लगायत कोही पनि नातेदारले देख्नु हुँदैन । यो केबल पोखरेलका लागि मात्र हो । गौरामा प्रसाद खाइसकेपछि घरघरमा लैजान पनि दिइन्छ । अनि घरका सबैले खीर खाने चलन छ । तर त्यो प्रसाद घरभित्र भित्र्याउन भने पाइदैन । त्यो प्रसाद फाल्न पनि नहुने विश्वास छ । गाईभैसीलाईसमेत खान दिन नहुने भनिन्छ ।

कुलपूजा गर्नका लागि टाढाटाढाबाट घर पुग्ने चलन छ । तर समय र परिस्थितिअनुसार त्यसरी पुग्न नसक्नेहरूले एकै ठाउँमा भेला भएर कुललाई सम्झेर स्थापना गरी पूजा गर्ने र दाजुभाइहरू मिलेर खीर खाने चलन पनि मौलाउँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्