विद्यालयमा क्वारेन्टिन, खुला चौरमा पठन पाठन • Image Khabar Image Khabar


विद्यालयमा क्वारेन्टिन, खुला चौरमा पठन पाठन


Imagekhabar
१६ असार २०७७, मंगलवार १५:३३

विद्यालयमा क्वारेन्टिन, खुला चौरमा पठन पाठन

सागर महत (ईमेज)
अर्घाखाँची, असार १६ । शहरका विद्यालयले अनलाइन कक्षा सञ्चालन गरी रहँदा ग्रामिण क्षेत्रका विद्यालयले भने खुल्ला चौरमा कक्षा सञ्चालन गर्न थालेका छन् ।

वाईफाई, कम्प्युटर, ल्याप्टप र मोवाइलको पहुँच नभएपछि अर्घाखाँचीको जनता कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खुल्ला चौरमा कक्षा सञ्चालन गरीएको छ ।

वर्षातको समय त्यसमा पनि खुल्ला चौरमा पढ्नु पर्ने बाध्यता सुन्दा सबैलाई आश्चर्य लाग्न सक्छ । तर, अर्घाखाँचीको जनता कृष्ण माध्यमिक विद्यालयका विद्यार्थीहरुले चर्को घामको प्रवाह नगरी यसरी हरियो चौरमा पढ्नु पर्ने बाध्यता छ ।

शहरमा घरमा बसी बसी आनन्दे अनलाइन पढाई हुँदा यस्ता दुर्गमका विद्यार्थीहरुलाई पनि त्यस्तै चाह हुँदो हो ? तर, सम्भव छैन । शहर र दुर्गमका विद्यार्थीबीच विभेदको अनुभव त छ उनीहरुलाई तै पनि लकडाउनको कारण पढ्न नपाएका यस्ता विद्यार्थीहरु चौरमै भए पनि पढ्न पाउँदा खुशी नै देखिन्छन् ।

एउटै कक्षा पढ्ने अति विपन्न वर्गका विद्यार्थीहरु अहिले पनि अनलाई कक्षा बढ्नबाट वञ्चित नै छन ।

त्यसमा पनि दुर्गम क्षेत्रका यस्तो विद्यालयमा पढ्ने विद्यार्थीहरुको त अवस्था दयनिय नै छ । सामाजिक दूरी राख्दै मास्क र स्यानिटाइजरको प्रयोग गरेर जिल्लामै पहिलो पटक शिक्षण सिकाई सहजिकरण कक्षा सञ्चालन गरीएको हो ।

शिक्षण सहजिकरणबाट चार सय विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् । ग्रामीण भेगमा बालबालिकाको सिकाइका लागि रेडियो, टेलिभिजन र अनलाइन कायक्रम प्रभावकारी छैन त्यसैले पनि खुल्ला चौरमा कक्षा सुरु गरीएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद पौडेलले बताउनुभयो ।

तर, खुल्ला चौरमा कक्षा सञ्चालन गर्न भने त्यति सजिलो पनि छैन । वर्षातको समयमा धुम्मीँदा, बादल लाग्दा र पानी पर्दा कक्षा सञ्चालन नहुने विद्यार्थी आफैंले बुझ्नु पर्ने हुन्छ ।

तै पनि तीन महिनासम्म विद्यालय नखुल्दा विद्यार्थीहरुले धेरै कुरा बिर्सिएका कारण स्मरण शक्ति बढाउन खुल्ला चौरमा कक्षा सञ्चालन गर्नु पर्ने बाध्यता भएको बिद्यालयले जनाएको छ ।

विद्यालय भवनमा क्वारेन्टिन बनाइएकोले चौरमा भएपनि सामाजिक दूरी कायम गर्दै शिक्षण सिकाई कक्षा संचालन गरीएको हो ।

कक्षा–१ देखि १० सम्म अध्ययनरत् विद्यार्थीलाई ११ स्थानमा रहेका लम्ची, किमडाडाँ, सिमलपाटा, वरनेटा, आपखोला लगायतका पायक पर्ने विभिन्न ठाउँका चौरमा राखेर पढाईने गरीन्छ ।

शिक्षा जस्तो महत्वपुर्ण विषयमा कोरोनाको जोखिम भए पनि विशेष सावधानी अपनाइ विद्यार्थीको स्मरण शक्तिको विकास गर्नु अहिलेको आवश्यता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्