सृष्टि: दुर्लभ मनुष्य जीवन • Image Khabar Image Khabar


सृष्टि: दुर्लभ मनुष्य जीवन


Imagekhabar
१६ असार २०७७, मंगलवार ०८:१२

सृष्टि: दुर्लभ मनुष्य जीवन

उद्धव कुईँकेल

सांसारिक भोग विषयपानमा अल्मलिनु, स्वजन वियोग शोकमा विह्वलित हुनु, अभिमानीलाई ढोग गर्नु तथा नाशवान् सम्पत्तिमा अन्धो मोज गर्नुभन्दा अखण्ड अच्युत भगवान प्राप्ति भोकले छटपटिनु चाहिँ बढी श्रेयष्कर छ। जन्मजन्मान्तरको सत्-कर्म प्रभाव एवम् अनन्य पुण्य फलको जवाफले उपलब्ध यो नश्वर चोला ज्यादै नै दुष्प्राप्य छ ।

प्राण, अपान, व्यान, उदान, समान, नाग, कुर्म, कूकल, देवदत्त र धनञ्जय सहितको दश प्राणयुक्त यो मानव देहले मात्र देवाधिदेवको उपासना संभव छ। मानवबाहेक अन्य कीरा फट्याङ्ग्रा र अबोध वा निमुखा पशुपन्छी जुनीबाट ईश्वर उपासना असंभव छ। त्यसैले यो हाड-मासु-रगत तथा कफ-वायु-पित्तयुक्त नाशवान् शरीरप्रति रत्तिभर मोह नराखी नित्य-निरञ्जन साकार वा निराकार ब्रह्ममा अनुराग राख्दा मानव जीवन सार्थक ठहर्छ। अन्यथा लौकिक व्यवहारजन्य विषय प्रपञ्च ज्वालाको रागैरागमा सृष्टि दुर्लभ जीवन खाग अर्थात् खरानी हुन्छ। यस्तै क्षणभंगुर भोग गौण-राग र साक्षात् ब्रह्मदर्शन योगको उत्तम-अनुरागबारे केही विचार विमर्श निम्न परिच्छेदहरुमा गरिएको छ।

•मानव अनुपयोगी राग:-

राग´ शब्दले कुनै व्यक्ति, वस्तु तथा आस्था आदिप्रतिको आकर्षण, मोह, माया, आशक्ति एवम् भक्तिभाव भन्ने बुझाउँछ। विषयगत प्रसंगमा यसको वस्तु वा पदार्थकोगन्ध´, हरक´ रखार´ आदि अनेक अर्थ पनि लाग्छ।

यही राग´ शब्दमा दिमाग लगाउँदाअनुराग´, रतिराग´,पराग´, चिराग´, सुहाग´, अंगराग´,द्वेषराग´ तथा `विराग´ आदि अनेकानेक रागैरागको शब्द सागरमा हराइन्छ। लेखमा गाँठी भन्न खोजेको कुरा पन्छिन्छ। यो रागको गोलमोलमा अल्मलिनुभन्दा ज्ञानगुनपूर्ण सामल पस्काइको जोगाडमा लाग्दा बढी फलदायी हुन्छ।

•सांसारिक विषयरागमा भड्किएको मानव:-

हेर्नुहोस् न, रागको´ विस्तार कति विचित्रको छ। भौतिक सुखसयल- खानपान-परिकारराग, स्त्रीपुरुष-प्रेमालाप क्रिया-प्रणय सुख- सहवास-रतिरागसुहाग, अनुकूल-प्रतिकूल-विषय-विशेष-मोह वा वैराग्यविराग, यौवनावस्था-सुन्दर-शारीरिक -अवयव मोह-अंगराग, परिचित अपरिचित जनको उन्नति उमंगमा गरिने रागद्वेष अर्थात् द्वेषराग, सत् कर्म- सुकीर्तिको सुवासना छर्ने पराग, अध्यात्म ज्ञानको उज्ज्वल-प्रकाश-ज्वाला-चिराग, एवम् भौतिक सम्पत्तिप्रति-अटुट-अनुराग´ मा हरेक व्यक्ति लठ्ठिएको देखिन्छ।

मानिसलाई यस रागले यति अँठ्याएको छ कि चाहेर वा नचाहेर पनि यसबाट यो फुत्कनै सक्तैन। फुत्किहालेमा पनि क्षणभर टिक्दैन। यो हरपल घर घरायसी र वरपर सरसघायसी व्यावहारिक आदान प्रदानमा खटिन्छ। परस्पर मोलमुलाहिजा तथा पारिवारिक र सामाजिक देख देखावटी सम्बन्ध राग रन्कोमा हर्दम रन्किन्छ।

अतृप्त काम वासनाको रागमा यो सर्वदा संतप्त छ। हरहमेसा जायज नजायज पद पैसा र प्रतिष्ठा भोक पूर्ति रागको नशामा दुर्लभ मानव जीवन, सुबाटोको दिशाबाट विमुख भई हरक्षण भ्रमित भएको छ।

नित्य नयाँ नौलो ठाउँमा घुम्ने, परिवार, भाइसाथी र आफन्तजनसित भरपुर गफ्फिने तथा एक अर्कामा खुसी साट्ने दिनचर्याको रागले झन् यसलाई उत्तिकै पछ्याएको छ। बेलाबखत यसको तुजुकको राग निम्न कुरामा पनि देखिन्छ। अकुत सम्पत्तिको बैंक ब्यालेन्स, Public Relation Challenge अर्थात् आफू अनुकूल जनबल नाताको चुनौती प्रदर्शन गर्छ। एकातिर साथमा होन्डा, टोयोटा र सुजुकी आदि चर्चित कम्पनी निर्मित अत्याधुनिक बुलेटप्रूफ गाडीका निजी ग्यारेज ,अर्कातिर हातमा विश्व सम्पर्क र कार्य सम्पादन सञ्चार साधन आइफोन र सामसुङ्ग जस्ताका सेलफोन-ल्यापटप- डेस्कटप जस्ता ग्याजेटका आडमा गजक्क गज्किन्छ। यसरी स्वघोषित कुलीन सम्बन्धका घेरामा तामसी अर्ध मुस्कान पस्केर निरर्थक सांसारिक कर्कलाको पानीसरि नाशवान पदार्थको रागमा बहुलठ्ठीपन देखाउँछ।

•दुर्लभ मानव जीवन दर्शन:-

हे मानव, चेत! अब त चेत!!! एउटा सूक्ष्मभन्दा सूक्ष्म अति अदृश्य `कोरोना´ नामको विषाणुको राप र तापले आज विश्व, जीवन मरणको त्रासदीमा संतापग्रस्त छ। हरक्षण भयभित र त्रसित पनि छ। यस्तो विषम वेलामा जीवन रहस्य बुझ्नु र यसको लक्ष्य प्राप्ति एवम् मानव भएर जिउनुको सार्थकतामा घोत्लिनु आवश्यक छ। यसबारे हाम्रा पूर्वीय स्वनामधन्य चिन्तकहरुले निम्न तरहले मानव जीवन दर्शन, मूल्य र यसको अर्थपूर्ण उपस्थितिको विवेचना निम्नानुसार गरेका छन्।

“दुर्लभो मानुषो देहो देहिनां क्षणभंगुर: !
तत्रापि दुर्लभं मन्ये वैकुण्ठ प्रियदर्शनम्।।”
-श्रीमद् भागवत महापुराण

अर्थात् विराट् ब्रह्माण्ड अन्तर्गत अनन्त सौर्य मण्डल मध्ये कुनै एक सौर्य मण्डलभित्रको यस पृथ्वीका प्राप्त अगणतीय प्राणी वा जीवमध्ये मानव जीवन अति दुर्लभ छ। अझ योभन्दा पनि दुर्लभ मान्छेको आयु छ। यो झन् अति दुर्लभ आयु कतिवेला क्षीण हुन्छ, थाहा छैन। अज्ञात त्यो काल तरबार मानव शिरमाथि अहोरात्र झुन्डिएकोले नै उसको शरीर क्षणभङ्गुर हो। यस्तो अनिश्चय मनुष्य जीवनमा, दुर्लभमा पनि दुर्लभ, भगवानका अनन्य भक्त योगीजनको दर्शन भेट त झनै दुर्लभ छ। उल्लिखित त्रिकालदर्शी मूर्धन्य तपश्वीजनसंगको संजोगपूर्ण न्यानो सामिप्यता सहितको सत्-संग दिव्य ज्ञानले मात्र जीवन, जगत र प्रकृतिका अस्पष्ट पहेली(रहस्य) अज्ञानका पर्दा खुल्छ अनि मनुष्य जुनी सार्थक हुन्छ।

ईश्वर अंश अविनाशी मानव जीव, विषय सागरको भुमरीमा फँसेको छ। सृष्टिका गणितीय जीवका सीमाभन्दा बाहिरको ब्रह्माण्ड दुर्लभ मानव स्वयंमा अद्भुत छ। यस्तो अपरिमेय अमूल्य जीवन लौकिक झुटा भोग प्रपञ्च थेग्न र आध्यात्मिक योग बाटो छेक्न पटक्कै उसले यो जुनी पाएको होइन। विराट् ब्रह्माण्ड सृष्टि महिमाको अध्ययन, ब्रह्मविधि नियम अनुपालन र अवधूत योगीजनको सत्-संग वचन अनुशीलन यसको एक मात्र सार्थक उद्देश्य हो। यो नै यसको ब्रह्मप्राप्तिको निर्विकल्प बाटो हो।

•ब्रह्माण्ड आंशिक सृष्टिको रहस्य र यसका भेद:-

आदि वैदिक शास्त्र दिग्दर्शन,सनातन धर्म रत्नग्रन्थ निर्देशन तथा विज्ञानसिद्ध खगोलीय खोजमूलक हालसम्मको सघन आशिक अनुसन्धानले ब्रह्माण्ड सृष्टिको प्रामाणिकता निम्नानुसार प्रष्ट्याएको छ।

सृष्टिको दृष्टि रहस्य विचित्रको छ। प्राकृत, प्राकृतवैकृत र वैकृत गरी यसका प्रमुख भेद तीनओटा छन्। प्राकृत सृष्टिमा अहङ्कारतत्त्व, महत्तत्त्व र मनस्त्तत्त्व गरी पुन: तीन उपभेद छन्।

अहङ्कारतत्त्व भित्र पाञ्चभौतिक पृथ्वी, जल, तेज, वायु र आकाश सृष्टि पर्दछन्। यसरी नै हात , गोडा, मुख, मलद्वार र यौन जनेन्द्रिय अर्थात् योनि वा लिङ्ग सहित पञ्चकर्मेन्द्रिय एवं नाक, कान, आँखा, जिब्रो र छाला लगायत यी ज्ञानेन्द्रियका रुप , रस, शब्द, गन्ध र स्पर्श समेतका गुण पर्दछन्। उक्त इन्द्रिय संचालन गर्ने तत्-तत् अंगस्थानमा अवस्थित अदृश्य दैविक ईश्वर अंश उर्जा प्रवाह शक्ति एवम् अविद्या अथवा मानव मनले ठम्याउन र देख्न नसक्ने अपरोक्ष शक्ति पनि पर्दछन्।

यही प्राकृत सृष्टिको दोस्रो उपभेद महत्तत्त्वमा घटाकाश, पटाकाश र महाकाश अर्थात् सृष्टि सृजना ध्वंश वा सृष्टि विस्फोटन प्रलय स्थिति पर्छ। यसैको तेस्रो उपभेदमा चाहिँ मनस्त्तत्त्व या आत्मतत्त्व जे भने पनि एउटै कुरा हो। एकबाट अनेक, अनेकबाट एक सृष्टिको कार्य सम्पादन सम्पन्न गर्ने संकल्प विकल्पका कारण तत्त्वमा पर्दछ।

प्राकृत सृष्टि पछिको वैकृत सृष्टिमा स्वेदज´,अण्डज´, उद्भिज´ रजरायुज´ चार किसिमका सृष्टि प्रक्रिया छन्। स्वेदज´ मा पसिनाबाट उत्पन्न हुने लिखा-जुम्रा लगायत अन्य सूक्ष्म किटादि जीव पर्दछ भनेअण्डज´मा फुल फुटेर अण्डाबाट उत्पत्ति हुने असंख्य चराचुरुङ्गीका प्रजाति तथा जमिनमा घर्सिने वा घिस्रिने गँड्यौला, नाग, सर्प आदि जीव पर्दछन्। उद्भिज´मा जमिनभित्र पाइने खनिज पदार्थ र जमिनबाहिर उपलब्ध हुने तथा उम्रने औषधि, तरु-लता, पुष्प-गुल्म आदि वनस्पतीजन्य अनेकानेक वस्तु पर्दछन्। वैकृत सृष्टिको अन्तिमजरायुज´मा चाहिँ सालनाल सहित जन्मने पशु-जीवजन्तु र मनुष्य पर्दछ। यिनमा मनुष्यमात्र जन्मान्तरपछि विस्तार विस्तार विद्या , बुुद्धि, विवेक र अन्य दीक्षित गुणादि अनुभवले र उमेरले परिपक्व हुँदै जान्छ।

सृष्टिको अन्तिम भेद प्राकृतवैकृत सृष्टि पद्धति हो। यस अन्तर्गत ज्ञान गुण साधनायुक्त सिद्धसिद्धेश्वर ऋषिकुमार सनद, सनन्दन, सनातन र सनतकुमार महायोगीजन पर्दछन्। यिनका योगदर्शनले युगौँदेखि यो भूतल आलोकित भैरहेको छ।

समुद्रमा औँलो चोपेर त्यसको गहिराइ मापन र जल परिमाण बताउन जति असंभव छ त्यति नै ब्रह्माण्ड सृष्टिको अपरिमेय अपार गहन विषयमा प्रवेश गर्नु तथा गराउनु भनेको क्षुद्र ज्ञान प्रदर्शन गर्ने धृष्टताबाहेक अरु के होला र? त्यसैले ब्रह्माण्ड सृष्टि रहस्य सम्बन्धी चिन्तन `एकद्वार´(एकमात्र प्रवेश वा निकास)को सूक्ष्म संकेत भाव मात्र उपर्युक्त परिच्छेदमा प्रकट गरिएको हो।

•मानव जीवनको महत्त्व र यसको कर्तव्य:-

सिद्ध योगीजनले पनि पार पाइनसक्नुको यस्तो अपार सृष्टि रहस्यको उत्तम जीव मात्र हो मानव। कालक्रममा दीक्षित, शिक्षित, प्रशिक्षित हुँदै यो प्रतिष्ठित अवस्थामा उपस्थित छ मानव। तसर्थ असार अथवा नि:सार संसारको विषयी किरो नभएर दैनिक जीवन सञ्चालनका विषयगत व्यवहारलाई सीमित बनाऔं। दुर्लभमा पनि महा-दुर्लभ अमृतमय आत्मशान्ति प्रदायक अध्यात्म चिन्तनमा यथाशक्य मन,वचन र कर्म लगाऔं। समय वेगवान् र बलवान् पनि छ। त्यसैले छिट्टै शारीरिक स्वस्थता र मानसिक अवस्था सक्रिय रहँदै कल्याणकारी तथा श्रेयष्कर बाटोमा लागौं। नि:सार लौकिक भोग रागबाट सकभर टाढा रहौँ।

बान्की मिलेको लालुपाते यौवनको सुगठित जिउडाल, कृत्रिम आकर्षक सजिसजाउ घुँघुराले केशभाल, निरर्थकका धाराप्रवाह वाकचाल तथा बलेसी थोप्लासरि चलायमान, अस्थिर र विलिन धनदौलतको छालमा न बहकिऔं, न बगौँ। बेला रहंँदै सँभालिऔं। नत्र आगलागी झुपडी डेढ घडी भद्रा होला!

रोग व्याधीले च्याप्ने, लोकाचार व्यवहारले ङ्याक्ने, भरभराउँदाका भरिला बैँस खस्कने र बुढ्यौलीले जिस्क्याउने बेलामा घरपरिवार समाजले पर्गेल्ने तथा कसैको हेलाँमा फेला नपर्दै ज्ञानगुन मन्थन आत्मचिन्तनमा कम्मर कसौँ। ज्ञानामृत पस्कने सज्जन-जनसंग निरन्तर उठबस गरौँ।

जन-धन-मनराग, काम-दाम-नामराग, दान-मान-सानराग आदि जस्ता पारिवारिक, सामाजिक तथा बेतुकका सांसारिक रागरोगको गञ्जागोलमा नपरी अखण्ड-अनन्त र अनुपमेय ब्रह्म उपासना अनुरागको अध्यात्म ज्योति अन्तर हृदयमा जगाउनु नै हितकर छ । अस्तु

प्रतिक्रिया दिनुहोस्