Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


ओलीको अभिब्यक्तिप्रति दिल्लीको चासो : सरकार तथा पार्टीभित्र कमजोर बन्दै गएको विश्लेषण


0
Shares

kp oli politics

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो सरकार ढाल्न दिल्लीले षणयन्त्र गरिरहेको भनी दिएको अभिब्यक्तिलाई दिल्लीमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी फाउन्डेसनद्वारा आइतबार आयोजित कार्यक्रममा आफूलाई सरकारबाट हटाउन षडयन्त्र भइरहेको र त्यसका पछाडि भारत लागिपरेको बताएका थिए ।

‘तपाईहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता–पध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भन्ने । भारतीय मिडिया, त्यहाँका बुद्धिजीविको कुरा सुन्नुभएकै होला । कसरी भारतको राज्यसंयत्र अचम्मसँग सक्रिय छ’, उनले भनेका थिए ।

उनले भारतीय दुताबासको सक्रियता र होटलमा भइरहेको गतिविधीका साथै दिल्लीका संचारमाध्यमका सामाग्रीबाट त्यो प्रष्ट भइरहेको दाबी गरेका थिए ।

ओलीको भनाइलाई दिल्लीका प्रमुख अखबारहरुले सोमबारको संस्करणमा विशेष प्राथमिकताका साथ प्रकाशन गरेका थिए ।

ओलीको अभिब्यक्तिलाई प्रायः सबैजसो मिडियाले सरकार संचालनमा देखिएको कमजोरी र पार्टीभित्रको चर्कदै गएको द्वन्द्व व्यवस्थापनमा सफल नभएपछि त्यसबाट उम्कने बहानाका रुपमा अत्र्याएका छन् ।

त्यसैगरी दिल्लीस्थित नेपाली मामिलाका जानकार तथा कूटनीतिज्ञहरुले पनि ओलीको पछिल्लो अभिब्यक्ति सरकार तथा पार्टीभित्र आफू कमजोर बन्दै गएपछि त्यसलाई ढाकछोप गर्ने असफल प्रयासका रुपमा लिएका छन् ।

यसले दिल्ली र काठमाडौंबीचको दूरी बढाउँदै सीमासम्बन्धी वार्ताको संभावनालाई थप पर धकेलेको समेत उनीहरुको भनाइ छ ।

ओलीको उक्त अभिव्यक्तिलाई भारतका धेरैजसो प्रमुख अखबारले सोमबार पहिलो पृष्ठमै स्थान दिएका थिए ।

प्रायः सबै मिडियाले ओलीले नयाँ नक्साको विषयमा जसरी सबैतिरबाट समर्थन पाएका थिए, त्यसअनुसार पार्टीभित्र भने उनको लोकप्रियता नरहेको दाबी गरेका छन् ।

नेपाल मामिलाका जानकारहरूलाई उद्धृत गर्दै ओलीको भनाइले सरकारभित्रको आन्तरिक कमजोरीका साथै भारतसँग सम्बन्ध टुटेको दर्शाएको समेत उल्लेख गरेका छन् ।

ओलीको भनाइप्रति नेपालका लागि भारतका पूर्वराजदूतहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।कान्तिपुर दैनिकबाट