
काठमाडौं, असार १५ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसी कम्प्याक्ट कार्यान्वयन शुुरु गर्ने मिति पुनर्विचारका लागि आग्रह गरेको छ ।
एमसीए नेपालले जारी गरेको विज्ञप्तिमा संसदबाट अनुमोदनमा ढिलाई भएको उल्लेख गरिएको छ । एमसीएले भनेको छ, ‘कोभिड–१९ महामारी तथा संसदीय अनुमोदन प्रक्रियामा भएको ढिलाइका कारणले गर्दा कार्यप्रगतिमा अवरोध सिर्जना भएको हुँदा नेपाल कम्प्याक्ट कार्यान्वयन थालनी मितिमा पुनर्विचार आवश्यक देखिएको छ ।’
पूर्वनिर्धारित मिति १६ असार २०७७ देखि कार्यान्वयन सम्भव नभएको भन्दै एमसीए नेपालले नयाँ मितिका लागि आग्रह गरेको हो । कार्यान्वयन शुरु हुनुभन्दा पहिला पूरा गर्नुपर्ने प्रक्रिया छिटो सम्पन्न गर्न आफूहरू सक्रिय रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘एमसीए–नेपाल कम्प्याक्टको कार्यान्वयन थालनी मितिमा प्रवेश गर्न र यस कार्यक्रमलाई अगाडि बढाउनका लागि छिटोभन्दा छिटो संसदीय अनुमोदनसहितका बाँकी सबै पूर्वशर्त पूरा गर्नका लागि सम्बन्धित सबै पक्षसँग क्रियाशील रहेको छ ।’
अनुमोदनका लागि अघिल्लो वर्ष नै संसदमा पुगिसकेको एमसीसी परियोजना सत्तारुढ दल नेकपाको आन्तरिक राजनीतिको स्वार्थपूर्ण खेलमा अल्झिरहेको छ । दशक लामो प्रक्रिया पूरा गरेर कार्यान्वयनको चरणमा पुगिसक्नुपर्ने समयमा नेकपाका केही नेताले संसदीय अनुमोदनका सम्बन्धमा बखेडा झिक्दा संसदमा छलफल हुन सकेको छैन ।
नेकपाभित्रको सत्ता शक्तिको मारमा परेको एमसीसी नेकपा स्थायी कमिटीमा बल्ल छलफल गर्न थालिएको छ । यस्तोमा कार्यान्वयन शुरु गर्नुपर्ने पूर्वनिर्धारित मिति असार १६ मा यो शुरु हुन नसक्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्