Logo २७ असार २०८३, शनिबार | Sat Jul 11 2026


पार्टीभित्र आमूल सुधारको आवश्यकताः नेता सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समयको माग बुझेर पार्टीभित्र आमूल सुधार गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको जारी जनजागरण अभियानअन्तर्गत काठमाडौं क्षेत्र नं. १ ले गरेको कार्यक्रममा नेता सिंहले पार्टीको सिद्धान्त र आदर्शलाई मुलभूतरुपमा स्वीकार्दै पार्टीलाई अघि बढाउनुपर्ने बताएका हुन् ।

उनले पार्टीभित्र धेरै कमीकमजोरी रहेको भन्दै सुधार गरेर अघि बढ्न नसके समस्या आउन सक्ने चेतावनी दिए ।

अर्का नेता बालकृष्ण खाँडले दुईतिहाइको दम्भ देखाउँदै सरकारले संविधानको मर्म र भावना विपरित काम गरिरहेको आरोप लगाए ।

उनले जनताको अधिकार स्थापित गर्न सडक र सदनमा आन्दोलन गर्ने तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे ।

नेता खाँडले राष्ट्रिय सुरक्षा, मानवअधिकार र प्रेस स्वतन्त्रतामाथिको अंकुश लगाउन खोजेर सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको आरोप पनि लगाए ।