मनको बाघले खाएका ओली, कच्चा कूटनीति र शासकीय अक्षमता ढाक्न राष्ट्रियताको शरण ! • Image Khabar Image Khabar


मनको बाघले खाएका ओली, कच्चा कूटनीति र शासकीय अक्षमता ढाक्न राष्ट्रियताको शरण !


Imagekhabar
१५ असार २०७७, सोमबार ०९:३७

मनको बाघले खाएका ओली, कच्चा कूटनीति र शासकीय अक्षमता ढाक्न राष्ट्रियताको शरण !

राजन कुईंकेल ।


प्रधानमन्त्री केपी ओलीले आफूलाई भारतले पदबाट हटाउन खोजेको भन्दै गम्भीर आरोप लगाएपछि अनेकन प्रश्नहरु उब्जिएका छन् । एउटा देशको प्रधानमन्त्रीका रुपमा पदमा बहाल रहेरै अर्को देशमाथि ओलीले लगाएको यस आरोपले शासन सत्तामाथि उनको पकड गुम्दै गएको त देखाउँछ नै त्यसभन्दा बढी कूटनीतिक प्रश्न खडा गरिदिएको छ । भारतले मिचेको भूमिसमेटेर नयाँ नक्शा निकालेको र त्यसलाई संविधान संशोधनसमेत गराएकाले आफूमाथि भारत खनिएको आरोप उनले लगाएका हुन् । यो आक्षेपसँगै नेपालभित्र अद्यावधिक नक्शालाई निशान छाप परिवर्तन गरी संविधानमा समेट्न एकमतका साथ गरिएको संविधान संशोधनमा अरु दलको हिस्सेदारीलाई उनले ठाडै नकारिदिएका छन् । जबकी नक्शा परिवर्तनको विषयमा राष्ट्र एकमत थियो भने यही कारणले ओलीलाई हटाउने खेल भारतबाट भयो भन्नुको औचित्यपूर्ण ठहर्ला ?

मनको बाघले खाँदै गरेका ओली र पार्टीभित्रको प्रहार रोक्ने नयाँ अस्त्र

कूटनीतिलाई बनाइयो आफ्नो अक्षमता ढाक्ने लँगौटी

आफनो पद टिकाउन मित्र राष्ट्रहरुलाई मुछ्नु राजनीतिक नेताको रोग

कूटनीतिक कच्चताले ल्याउने परिणाम, ओलीकै लागि घातक

नक्शा सार्वजनीकरण र संविधान संशोधन ओलीको होइन राष्ट्रको एजेण्डा

भारतले संवादमा चासो नदेखाएपछि भारतमाथि गरिएको प्रहार

आफ्नो थैलीको मुख बलियो बनाउनु अरुलाई चोर दोष नलगाउनु

आफ्नो अक्षमता ढाक्न सँधै भारतलाई दोष, देशभित्रको शासक हटाउन भारतमै निर्भरता ?

राणा शासन(२००७), पञ्चायत(२०४६), राजतन्त्र/राजा ज्ञानेन्द्र(२०६३) हटाउन भारतकै हालिएको थियो छाँद !

मोहनशमशेर, वीपी, महेन्द्र, वीरेन्द्र, गिरिजाप्रसाद, प्रचण्डदेखि ओलीसम्मको एउटै धून, सबैले पिसे राष्ट्रवादी घून !


प्रधानमन्त्री ओलीको यो आरोपले उत्पन्न गराएका केही प्रश्नहरु छन् । अहिलेको संवैधानिक प्रबन्ध अनुसार ओलीलाई प्रधानमन्त्रीबाट हटाउन अरु कसैले सक्दैन, फगत उनको आफ्नै दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाहेक । नेकपाको वर्तमान संसदमा झण्डै दुई तिहाईनिकटको बहुमत छ । यस्तोमा विपक्षले ओली सरकार ढाल्ने विपनामा त के सपना पनि कल्पना गर्न सक्दैन । अस्थीर राजनीति अन्त्य गर्दै मुलुक विकास निर्माणको बाटोमा लम्केको हेर्ने चाहका साथ जनताले वर्तमान सत्ता गठबन्धनलाई यत्रो भारी बहुमतको माला भिराइदिएका हुन् । यस्तोमा विपक्षका लागि यो बाटोमा लाग्नु बचेखुचेको राजनीतिक साख पनि सकाउनु हुनेछ । त्यसैले ओलीले पद छाड्नुपर्ने एउटै कारण हो आफ्नै पार्टीभित्रका बहुल सदस्यको विश्वास गुमाउनु ।

त्यसो हो भने के ओली पार्टीभित्र अधिक सांसदको विश्वास गुमाएर पद छाड्नुपर्ने गरी सत्ताको डिलमा पुगिसकेका हुन् ? आफ्ना अनेकन अक्षमताले पद गुमाउनुपर्ने बाध्यतामा पुगेपछि उनी आफै ‘चोरको खुट्टो काट् भन्दा खुट्टा थुते’झै गर्न खोज्दै छन् ? एकपछि अर्को गर्दै आफ्नो सरकारले गरेका कामको चौतर्फी आलोचना, मन्त्री र प्रशासकहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेपछि आफूभित्रैको मनको बाघले निल्दै छ उनलाई ? अब मलाई पक्कै पनि छाड्नै छैनन् भन्ने ग्रन्थीले काम गरिरहेको छ ? ओलीले प्रतिरक्षात्मक वक्तव्य त्यतिबेला दिएका छन्, जतिबेला उनकै आफ्नो निवासमा पार्टीको स्थायी कमिटी बैठक बसिरहेको छ र त्यहाँ ओली सरकारको अक्षमतामाथि सदस्यहरुले धाराप्रवाह आलोचनाका साथ सरकारको राजीनामा माग गर्दै छन् ।

ओली सरकार शासकीय निकम्मालाई राष्ट्रियताको जलपमा छोप्ने असफल प्रयास भने गरिरहेको छ । १३ वर्षीया बालिका निर्मला बलात्कारपछि हत्या प्रकरण जस्तो निर्मम अपराधको पहलुसम्म सरकारले देखाउन सकेको छैन । निर्मला एउटी बिम्ब हुन् उनी जस्ता सयौं बालिका, किशोरी र महिला बलात्कृत भइरहेका छन् । उनीहरुको न्यायको आवाज दबाइएको छ । ३३ किलो सुन प्रकरणले धूमिल बनाएको अनुहार, कोरोना जस्तो नागरिकको जीवनसँग जोडिएको सवालमा स्वास्थ्य सामग्री खरिद गर्दा निलिप्त डुबेको आफ्नो सरकार र प्रशासन जोगाउन ओलीलाई हम्मेहम्मे परेको छ । दण्डहीनता राज्यसत्ता र समाजको राजमार्गमा परिणत गराइएको छ । आफ्ना प्रिय सञ्चारमन्त्री गोकुल बाँस्कोटाले लिएका एकपछि अर्का खरिद निर्णयमा अर्बौंअर्ब रुपैयाँ राज्यकोषबाट मिलिभगतमा स्वाहा बनाएका घटना जनताले त्यत्तिकै बिर्सन सक्दैनन् । राज्यको प्राकृतिक स्रोत दोहन गर्न आफूनिकटको व्यापारिक समूह यति, ओम्नीहरुलाई बाटो खुलाउन काननु नै संशोधन गराएको विषय आजको समयमा कसरी दबाउन सकिएला र ? समाजवादी नारा फ्याँकेर शिक्षा र स्वास्थ्य क्षेत्रमाथि दलाल, पुजिँपति, माफिया, बिचौलियासँग घाँटी जोडेर मच्चाइएको लूटको साक्षी मात्र हुँ भनेर कस्ले पत्याउँला र ? देशभरका ठूला ठेक्कापट्टामा आफूनिकटमा चन्दादातालाई पुरस्कृत गर्ने जस्तो घृणित खेलको पटाक्षेप हुँदा पनि कुनै कारवाही नगर्नुले कस्तो शासकीय क्षमता प्रदर्शन गर्दैछ ? हो यिनै विषयमा प्रश्न उठ्दा आफ्नो कुर्सीका खुट्टा भाँचिदै गरेको देख्नु कुन ठूलो आश्चर्य भयो र ?

मनको बाघले खाएका ओली, कच्चा कूटनीति र शासकीय अक्षमता ढाक्न राष्ट्रियताको शरण !

हो नक्शा प्रकाशित र संविधानमा संशोधन गरेपछि नेपालसँग भारत पक्कै खुशी छैन । त्यसको छनक त नेपालले वार्ताका लागि गरेका पटक पटकको आग्रहलाई उसले लत्याइरहेबाटै प्रश्ट हुन्छ । आफ्ना २० सैनिक मारिँदा पनि चीनसँग संवादको ढोका खोलेको भारत नेपालसँग संवादहीनतामै रहन चाहेको देखिँदैछ । भारतीय संस्थापननिकटकाहरुबाट आएका सूचनालाई आधार मान्ने हो भने पनि भारत तत्काल नेपालसँग संवादमा बस्न चाहँदैन । दशकौंदेखि नेपाली भूभाग कब्जा गरेर बसेको उ नेपाललाई धम्क्याएरै आफ्नो स्वार्थ माथि पार्न चाहन्छ । उसलाई थाहा छ, नेपाली नेता र जनताले जति नै चीनतिर देखाएर आफूतिर धारे हात लगाए पनि खानेदेखि फाल्नेसम्म, भान्साको चुलोदेखि कामको धूलोसम्म अन्ततः फेरि भारतमै निर्भर रहनुपर्छ । त्यही कमजोरीलाई उ नेपालमाथि बार्गेनिङ गर्ने अस्त्र बनाउँदैछ । उत्पादकत्वविहीन खोक्रो राजनीतिक नाराले जनता उराल्न त सकिन्छ तर त्यसले समाधान दिन्न भन्ने हामीभन्दा भारत धेरै जानकार छ । दिनभर भारतविरुद्धको नाराबाजी गर्न सडकमा ओर्लने महान् राष्ट्रवादी आत्माहरु भान्सामा पुगेपछि भारतबाटै भित्र्याएको ग्याँस र अन्नमा निर्भर हुने उ भलिभाँती जानकार छ ।

आइतबार ओलीले व्यक्त गरेको अभिव्यक्ति मूलतः काम गर्न नसकेको निराशा र हतोत्साहको अभिव्यक्ति हो । उसोत यसरी भारततीर धारे हात लगाएको न त ओलीले पहिलो पटक हो न उनी नै पहिला शासक । आफ्ना शासकीय अक्षमतालाई ढाकछोप गर्न अर्कातिर धारे हात लगाउनेमा उनका अग्रजहरु प्रशस्तै छन् । ओली स्वयंले पहिलो पटक प्रधानमन्त्री पद गुमाउनु पर्दा उसैगरी भारतलाई दोष लगाएका थिए । जुन कुरा आइतबारको अभिव्यक्तिमा पनि दोहोर्‍याए । राणा शासन ढल्दा मोहन शमशेरले, १७ सालमा पहिलो जननिर्वाचित सरकारमाथि महेन्द्रले कू गर्दा वीपी कोइरालाले, शीतयुद्धकालीन समयमा दुई विचारलाई देखाएर शासन गर्न खोज्दा अड्चन आउँदा महेन्द्रले, २०४६ सालमा पञ्चायत ढल्दा वीरेन्द्रले भारतलाई नै निशाना साँधे । संसदीय व्यवस्थामा भित्र्याएको तमाम विकृतिमा शासन सत्ता भनेजसरी चलाउन नपाउँदा गिरिजाप्रसादले, अल्पमतको सरकार ढल्दा एमाले (मनमोहन अधिकारी) ले, संसदीय व्यवस्थाविरुद्ध माओवादीलाई उचाल्दा कांग्रेसले, २०६३ मा राजतन्त्र ढल्दा ज्ञानेन्द्रले, प्रधानसेनापति प्रकरणमा प्रचण्डसम्मले आफ्नो सरकार ढल्दा सँधै भारतीय शासकतिरै धारे हात लगाए र देशभित्र अधिक राष्ट्रवादी नाटक मञ्चन गरे ।

तर सिक्काको अर्को पाटो पनि छ । राणा शासन ढाल्न, वीपी कोइरालाको सरकार फालेर पञ्चायत ल्याउन र पञ्चायतलाई ३० वर्ष टिकाउन, २०४६ पछिको संसदीय पद्धतिमा आ–आफ्ना सरकार बनाउन, दिल्ली नोयडामा बसेर, सैन्य अस्त्रशस्त्र र दीक्षा लिएर माओवादी सशस्त्र हिंसा मच्चाउन सबैले त्यही भारतको कुनै न कुनै कोणबाट सहायता स्वीकारेका छन् । कांग्रेस, एमाले र माओवादीका कुन कुन नेताको पेटमा कति कति भारतीय सिक्का आइसीको हिस्सा परेको छ भन्ने त कि तिनै नेतालाई थाहा होला कि भारतीय दूतावासका अनुचरहरुलाई नै । पार्टीहरुका आन्तरिकदेखि देशको राष्ट्रिय निर्वाचनसम्ममा भारतको सहयोग देखिएर कति, लुकेर कति कस्ले भित्र्याए ? त्यो जनताले नबुझेको पक्ष छैन । अनेकन बैशाखीबाट सरकारको भर्‍याङ चढ्ने । हुने नहुने अनेकन आकांक्षा देखाएर जनतासँग मत लूट्ने । आकाशमा जोतेको हलोले परिणाम नदिने देखेपछि जनता सडकमा ओर्लने त भैहाले । जब जनता र पार्टीभित्रको असन्तुष्टी निस्कन थाल्छ र कुर्सी हल्लन थाल्छ अनि दोषजति अरुलाई देखाएर आफू दूधले धोएको सफेद स्फटिक बन्न खोज्ने नेपाली नेताको चारित्रीक विशेषता हुन्, जुन अहिले ओलीले देखाएका मात्र हुन् ।

प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीले सधैभरी शंकाको सुबिधा पाइरहन्नन् । काम गर्न सकेनन् भने उनको विकल्प खोज्ने अधिकार उनको दल र तिनका सांसदलाई छ । त्यसैलाई देखाएर कूटनीतिक बचकना देखाएर अरु देशलाई लतारेर ल्याउन खोज्नु उचित हुन्न । आफ्नो थैलीको मुख राम्रोसँग बन्द गर्न नसक्नेले अरुलाई चोर दोष लगाउन औला ठड्याउनु बुद्धिमानी ठहर्दैन । त्यसैले राष्ट्रियता कुनै पनि शासकको शासकीय अक्षमता ढाक्ने लँगौटी होइन र ओलीले पनि बनाउने दुष्प्रयास नगरुन् !

प्रतिक्रिया दिनुहोस्