
बैतडी । बन्दाबन्दीको समयमा बैतडीमा अखाद्य गुणस्तरहीन सामग्री बिक्री वितरण गरिएको पाइएको छ । बजार अनुगमन गर्दा करिब चार लाख बराबरको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरिएको छ ।
जिल्लास्थित सरोकारवालाको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा तीन लाख ७६ हजारको अखाद्य वस्तु र पेय पदार्थ बरामद गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख मायादेवी जोशीले जानकारी दिनुभयो ।
जिल्लाका पाँच स्थानीय तहका करिब एक दर्जन बजारमा अनुगमन गर्दा उक्त मूल्य बराबरको सामग्री बरामद गरी नष्ट गरिएको उहाँले बताउनुभयो । गत जेठ ३२ गतेदेखि शुरु भएको अनुगमन दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, सूर्नया गाउँपालिका र डिलाशैनी गाउँपालिकाका बजारमा सम्पन्न भएको हो ।
जिल्लाका अन्य स्थानीय तहमा रहेका बजारमा पनि निरन्तर अनुगमन गरिने जनाइएको छ । म्याद नाघेका अखाद्य सामग्री बिक्री वितरणमा रोक लगाउने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ ।
यसका साथै उपभोक्ता अधिकारका विषयमा व्यापारी र नागरिकलाई सचेत गराउन बजार अनुगमनमा तीव्रता दिइएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णदत्त लेखकले जानकारी दिनुभयो ।
धेरै ठाउँमा पिठो, सोयाबडी, पत्रुखानालगायत अन्य खाद्यान्न सामग्रीसमेत म्याद नाघेका पाइएकाले बरामद गरी नष्ट गरिएको लेखकले जानकारी दिनुभयो ।रासस
प्रतिक्रिया दिनुहोस्