२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चीनले तिब्बतमा २० जना मार्सल आर्ट प्रशिक्षक पठायो


0
Shares

काठमाडौं, असार १४ । चीनले आफ्ना सैनिकलाई तिब्बतको पठारमा मार्सल आर्ट तालिम दिलाउन २० जना प्रशिक्षक पठाएको छ ।

भारतसँग लद्दाखमा झडप भएपछि चीनले यस्तो निर्णय गरेको विश्लेषण गरिएको छ ।

यद्यपि, चीनले सैनिकलाई मार्सल आर्ट तालिम दिनका लागि प्रशिक्षक पठाउनुको आधिकारिक कारण भने बताएको छैन ।

सन् १९९६ मा भएको सम्झौताअनुसार सीमा क्षेत्रमा सुरक्षाका लागि खटिने दुवैतर्फका सैनिकले बन्दुक वा विस्फोटक पदार्थ बोक्न पाउँदैनन् ।

तर, भारतले हालैको भिडन्तपछि अवस्था हेरेर हतियार प्रयोग गर्न पाउनेगरी सेनालाई निर्देशन दिएको छ ।

सेनालाई तालिम दिन मार्सल आर्टका प्रशिक्षक पठाइनेसम्बन्धी खबर चीनको आधिकारिक सञ्चारमाध्यमले जुन २० मा प्रकाशित गरेको हङकङका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीकाअनुसार इनबो फाइट क्लबका २० प्रशिक्षकहरु तिब्बतको राजधानी ल्हासामा बस्ने जनाइएको छ ।

तर, चिनियाँ सञ्चारमाध्यमले ती प्रशिक्षकले भारतसँगको सीमामा रहेका सैनिकलाई प्रशिक्षण दिएको वा दिइरहेको भन्ने कुराको पुष्टि गरेका छैनन् ।

परमाणु हतियारयुक्त भारत र चीनले हालै भएको सीमा भिडन्तका लागि एक–अर्कामाथि दोष लगाउँदै आएका छन् ।

पाँच वर्षपछि भारत–चीन सीमामा सैनिकको ज्यान जानेगरी भएको भिडन्तपछि उत्कर्षमा पुगेको तनाव सैन्य तथा कूटनीतिक वार्तामार्फत् समाधान गर्नका लागि तत्पर रहेको दुवै पक्षले बताउँदै आएका छन् । त्यसका लागि वार्ताहरु पनि भइरहेका छन् । (एजेन्सी)