पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान • Image Khabar Image Khabar


पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान


Imagekhabar
१४ असार २०७७, आईतवार १७:०१

पोल्याण्डमा महामारीबीच राष्ट्रपति चयनका लागि मतदान

पोल्याण्ड, असार १४ । विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सिर्जित महामारीबीच पनि पोल्याण्डमा आइतबार मतदान भएको छ ।

नयाँ राष्ट्रपति चयनका लागि पोल्याण्डबासीले मतदान गरेका हुन् ।

यो निर्वाचन गत मे मै हुनुपर्ने भए पनि कोरोनाभाइरसको महामारीका कारण जुन २८ का लागि सरेको हो ।

निर्वाचनका लागि वर्तमान राष्ट्रपति अन्ड्राज डुडासँगै अरु दश जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

अठचालीस वर्षीय डुडालाई सत्तारुढ रुढीवादी पार्टी कानुन र न्याय पार्टीको समर्थन रहेको छ । उहाँ दोस्रो पाँच बर्षे कार्यकालका लागि राष्ट्रपति बन्न प्रतिस्पर्धामा उत्रिनु भएको हो ।

पोल्याण्डको राजनीतिमा सो पार्टीले कुन हैशियत पाउनेछ भन्नेबारे पनि डुडाको नतिजाले तय गर्नेछ ।

पछिल्ला विभिन्न सर्वेक्षणहरुले मतदानको पहिलो चरणबाट नै कुनै उम्मेदवारले ५० प्रतिशत बढी मत ल्याउन नसक्ने देखाएको छ । त्यसैले दोस्रो चरणको मतदान गर्नुपर्ने सम्भावना देखिएको छ ।

कुनै उम्मेदवारले ५० प्रतिशत मत नल्याएमा यही जुलाई १२ तारिखका दिन अर्को चरणको मतदान गराउनेगरी मिति तय भएको छ ।

आइतबार भएको पहिलो चरणको मतदानको नतिजा बुधबार सार्वजनिक हुनसक्ने अधिकारीहरुले जनाएका छन् ।

युरोपेली संघको सदस्य समेत रहेको यो देशमा अन्य युरोपेली देशहरुले जस्तो कोरोनाभाइरसको महामारी भोग्नु परेको छैन । त्यसैले धेरै मतदाताले मतदान गर्ने अपेक्षा गरिएको छ ।

मतदानका लागि कोरोनाबाट बच्न अपनाइने आधारभूत सुरक्षा सतर्कता भने अपनाउन मतदातालाई सचेत गरिएको छ ।

तीन करोड असी लाख जनसङ्ख्या रहेको पोल्याण्डमा अहिलेसम्म ३४ हजार जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् भने एक हजार ४०० जनाको मृत्यु भएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्