
काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई भारत र नेपालका केही नेता लागेर पदबाट हटाउने षडयन्त्र बुनिएको आरोप लगाउनु भएको छ ।
लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्शा जारी गरेकै कारण आफूलाई भारतले प्रधानमन्त्रीबाट हटाउने खोजेको आरोप लगाउँदै उहाँले त्यो खेलमा नेपालका नेताहरू पनि लागेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा गरिएको मदन भण्डारीको जन्मजयन्तीमा प्रधानमन्त्री ओलीले आफू प्रधानमन्त्रीको जिम्मेवारीबाट हट्ने हो भने नेपालको पक्षमा बोल्ने आँट कसैले गर्न नसक्ने दाबी पनि गर्नुभयो ।
उहाँले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि फिर्ता नल्याएसम्म पद नछोड्ने अडान देखाउँदै उहाँले भारतीय सञ्चार माध्ययमा आएका समाचार, दूतावासका गतिविधिले भित्रभित्र के भइरहेको छ भन्ने थाहा हुने जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर यतिबेला म हट्ने हो भने फेरि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्ने छैन, किनभने बोलेको भोलिपल्ट बर्खास्त हुन्छ ।’
पार्टीको संसदीय दलले आफूलाई हटाउने कुरा कहाँबाट आइरहेको छ भन्ने राम्ररी बुझेको चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘मैले आजका लागि होइन भोलिका लागि, आफ्ना लागि होइन देशका लागि काम गरेको छु । हाम्रो पार्टी, हाम्रो संसदीय दल यस्ता बहकावमा कुद्नेवाला छैन । यति कुरा नबुझ्ने अन्जान खेलमा सामेल हुनेवाला पनि छैन ।’
भुलचुकले नेपालको नयाँ नक्शा छापिएको वा संविधान संशोधन गरिएको होइन भन्दै उहाँले भन्नुभयो, ‘भूमि फिर्ता गर्ने यस अभियानबाट हामी फिर्तै हुँदैनौं । हामीलाई हाम्रो भूमि चाहियो । फिर्ता नलिइकन छोड्दैनौं ।’
सन् १९६२ सालदेखि कालापानीमा भारतले सेना राखेका कारण त्यहाँका जनतासँग नेपालको सम्बन्ध टुटेको भन्दै ओलीले भन्नुभयो, ‘कालापानीमा सेना राखेर उता जानै दिएका छैनन् । नेपालका नागरिकताधारीहरूले त्यहाँ नागरिकता र रासन कार्ड कसले दिएको छ भन्ने प्रश्न गर्छन् ।’
हामीले अरूको जमिन अतिक्रमण गरेको होइन भन्दै प्रधानमन्त्री ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने सपना नदेख्न चेतावनी दिनुभयो ।
आफू अघिल्लो पटक प्रधानमन्त्री भएको बेला पनि चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेलगतै हटाइएको स्मरण गर्दै उहाँले अहिले नेपालले आफ्नो जमिन फिर्ता ल्याउन खोज्दा हटाउन खोजिएको गुनासो गर्नुभयो ।
भारतीय समाचारमा आएका विषयलाई उधृत गर्दै त्यो अघिल्लो पटक बहुमत नभएकैले हट्नु परेको तर यस पटक त्यो सपना नदेख्न चेतावनी दिँदै उहाँले भन्नुभयो, ‘नेपालको आजको रााष्ट्रियता यति कमजोर छैन, कसैले नसोचे पनि हुन्छ । कसैले हतारो नगरे हुन्छ, कसैले विभिन्न आग्रह नपाले पनि हुन्छ ।’
प्रतिक्रिया दिनुहोस्