
गृष्मा राजभण्डारी र भरत केसी (इमेज)
काठमाडौं, जेठ ११ । विदेशको सपना देखाएर सयौं नेपालीलाई ठग्ने परशुराम गुरुङलाई थाइल्यान्डमा पक्राउ गरी नेपाल ल्याइएको छ ।
उनलाई शनिबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
गुरुङ त्यस्ता व्यक्ति हुन्, जसले क्यानडालगायतका मुलुकमा पठाइदिन्छु भन्दै थाइल्यान्डमा बोलाएर नेपालीहरुलाई बन्धकसमेत बनाउँथे ।
सामाजिक सन्जालमार्फत् रोजगार दिलाउने प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गर्ने परशुराम गुरुङ पक्राउ परेको खबरपछि उनीबाट ठगिएका पीडितहरुको भीड नै लागेको थियो, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा ।
झापा निवासी परशुरामले कमल, पारस, मनोज, किम, अधिराज थापामगरको नाममा नक्कली फेसबुक आइडी बनाइ क्यानडालगायतका मुलुक पठाउने बहानामा १५० भन्दा बढी मानिसहरुसँग प्रतिव्यक्ति ११ देखि २२ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलासा भएको छ ।
ठगीको कुल रकम जोड्ने हो भने त्यो करोडौं हुन्छ ।
ठगी धन्दा गर्न थाइल्यान्डमा बस्दै आएका उनले १४ देखि २० जनाको समूह बनाइ मानिसहरुलाई फसाउने गरेका थिए ।
‘क्यानडा पठाइदिने’ भन्दै थाइल्यान्ड बोलाएर विमानस्थलमै सम्बन्धित व्यक्तिहरुसँग थप पैसा असुली भाग्ने काम गुरुङको समूहले गर्दै आएको थियो ।
उनीविरुद्ध १०० भन्दा बढी उजुरी परेपछि नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा ‘डिफ्युजन नोटिस’ जारी गरेको थियो । सोही आधारमा थाइ प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गुरुङले आफूले थाइल्यान्डमा बोलाएका व्यक्तिहरुलाई बन्धक बनाएर रकमसमेत असुल्ने गरेको पीडितहरु बताउँछन् ।
बाहिर निस्केमा ‘थाइ प्रहरीले समात्छ’ भन्दै आफन्तहरुसँग पैसा मगाउन लगाउने, पैसा आउन छाडेपछि भने फरार हुने गरेका थिए ।
विभिन्न नाममा परिचय स्थापित गरी ठगीमा सक्रिय भएकाले पीडितहरुलाई उनीसम्म पुग्न निकै गाह्रो भइरहेको थियो ।
गुरुङविरुद्ध आर्थिक वर्ष २०७१/७२ देखि नै उजुरी पर्न थालेको थियो । मानव बेचबिखनमा ५० र ठगीको मामिलामा करिब २०० व्यक्तिले उनीमाथि उजुरी दर्ता गरेका छन् ।
दर्जनौं सिमकार्ड प्रयोग गरिरहेका गुरुङले थाइल्यान्डको राहदानीसमेत बनाएका थिए ।
नेपाल सरकारले भने २०७२ साल जेठ २२ गतदेखि उनको राहदानी खारेज गरेको थियो ।
गुरुङविरुद्ध मानव बेचबिखन, ओसार–पसार र ठगीको मुद्दा चलाइ अनुसन्धान अघि बढाइने सीआइबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्