Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी


0
Shares

काठमाडौं । अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टी (सिसिपी) का अधिकारीमाथि भिसा प्रतिबन्ध लगाउने तयारी गरेको बताउनुभएको छ ।

नयाँ सुरक्षा कानून ल्याएर हङकङको स्वतन्त्रता कमजोर बनाएको भन्दै अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीलाई भिसा नदिने तयारी गरेको उहाँले बताउनुभयो

नयाँ प्रतिबन्ध सिसिपीका वर्तमान तथा पूर्व अधिकारीमाथि केन्द्रित रहने विदेश मन्त्री पोम्पेओले बताउनुभयो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वायत्तता कमजोर बनाउने चिनियाँ अधिकारीलाई दण्ड दिने बताउनुभएको थियो ।

केही दिनपछि चीनको संसद बैठक बस्दैछ । नेशनल पिपुल्स कंग्रेसको स्थायी कमिटिले नयाँ सुरक्षा कानूनमाथि छलफल गर्ने छ । सो बैठक आइतबारदेखि सुरु हुनेछ ।

नयाँ सुरक्षा कानून अनुसार चीनले हङकङमा पहिलो पटक आफ्नो सुरक्षा एजेन्सीको कार्यालय खोल्दैछ । यसको विरोधमा हङकङमा प्रदर्शन भएका छन् भने अन्तर्राष्ट्रिय समुदायले पनि गम्भीर चासो र चिन्ता व्यक्त गरेका छन् ।(एजेन्सी)