
काठमाडौं, असार १२ । मुलुकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सरकार रहेको छ । २०७४ सालमा एमाले–माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनाउनदेखि, पार्टी एकीकरण हुँदै सरकार निर्माणसम्ममा चिनियाँहरुको महत्वपूर्ण भूमिका रहेको दाबी गरिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी र सरकारसमेतको प्रोत्साहन र समन्वयमा नेपालका दुई कम्युनिष्ट पार्टीबीचमा चुनावी गठबन्धन निर्माण हुँदै पार्टी एकता र सरकार सञ्चालनको मोडालिटीसमेत बनेको आरोप लाग्ने गरेको छ ।
एकातिर चिनियाँ सिद्धान्त, विचार र मार्गनिर्देशनमा चलेको आरोप लाग्नु अर्कातिर सत्तारुढ दलका नेताहरुको चालढाल, कार्यशैली, अभिव्यक्ति र निकटता चिनियाँ नेतृत्वदेखि कम्युनिष्ट पार्टीसम्म शरणागत शैलीकै रहनुले पनि आरोप लगाउनेहरुलाई बल मिलेको छ ।
पार्टी एकीकरण गराएर दुई देशका कम्युनिष्ट पार्टीबीच विचार, नीति र सिद्धान्तमा एकाकार गर्न प्रशिक्षणदेखि अध्ययन भ्रमणसम्म गराउन दुई पार्टी तहमा सम्झौता नै गरियो । स्वयं राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति कूटनीतिक शिष्टाचारभन्दा पर एउटा पार्टीको बैठकलाई नै सम्बोधन गर्न पुग्नुभयो ।
चिनियाँ उक्साहटमा नेपालको सरकार भारतविरुद्ध काम गरिरहेको अरोप लागेका बेला चिनियाँ कम्युनिष्ट पार्टीबाट नेकपाका नेताहरु लगातारजसो दीक्षा लिइरहेका छन् । नेपाललाई चिनियाँ ऋणको बीआरआई र अमेरिकी अनुदानको एमसीसीमा सहमत गराउँदै आ–आफ्ना परियोजना कार्यान्वयन गराउन प्रयास भइरहेका बेला नेकपाका केही नेता खुलेआम चीनको पक्ष र अमरिकाको विरुद्धमा अनेकन तर्क गर्दै हिंडिरहेका छन् ।
यस्तो समयमा शुक्रबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अर्को विचित्रको तस्वीर देखियो । स्थायी कमिटीको बैठकमा नेताहरु एकाएक जन्तर भिरेर प्रवेश गर्न थाले । कोरोना भगाउने बुटी भन्दै लगाइएको उक्त जन्तर भने चीनमै बनेको थियो ।
यसरी जन्तरे बुटी बाँधेर बैठकमा पुग्नेमा अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री माधव नेपालदेखि स्थायी कमिटीका नेताहरु थिए । जन्तर बाँड्ने काम भने माधव नेपालले गरेको स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले जानकारी दिनुभयो । न्यौपाने आफै पनि नीलो आकारको जन्तर भिरेर हिडिरहनु भएको थियो ।

संसारनै कोरोनाबाट कायल भइरहेका बेला आफूलाई खुबै भौतिकवादी दावी गर्ने पार्टीका अध्यक्षदेखि शीर्ष तहका नेताहरु नै जन्तर झुण्ड्याएर हिडिरहेको दृष्य आफैमा हाँसो उठ्दो थियो । न्यौपानेको घाँटीमा झुण्डिएको ‘भाइरस रिमुभिङ कार्ड’ प्रतिको पत्रकारको जिज्ञासामा उहाँले बैठकमा नेता नेपालले आफूलाई जन्तर लगाइदिएको जानकारी दिनुभयो ।
जन्तरलाई घाममा देखाउन नहुने भनेकाले कोटले छोप्दै उहाँले भन्नुभयो, ‘यसले (कोरोना) उडाउँछ कि उडाउँदैन थाहा छैन । उहि बेसारको धुलो जस्तो हो कि !’
अध्यक्ष दाहाल, नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल लगायतका नेता जन्तर लगाएरै बैठकमा बस्नुभएको थियो । उक्त कोरोना जन्तरको नाम भने ‘भाइरस ब्लकर डिसइन्फेक्सन कार्ड’ हो । एउटा कार्डलाई ६५० रुपैयाँ तिरेर किनिएको बताइएको छ ।
जापान अमेरिका लगायतका मुलुकमा प्रतिबन्ध नै जस्तो रहेको यो कार्ड नेकपाका नेताहरुले भने भिरेर हिंडेका हुन् । समाचार संकलन गर्न जुटेका पत्रकारहरु भने नेताहरुको ताल देखेर भन्दै थिए, ‘नेकपा नेताका दिमागमा चिनियाँ गुदी, घाँटीमा जन्तर !’
प्रतिक्रिया दिनुहोस्