
काठमाडौं, असा १२ । अमेरिकाले नेपाल आतंकवाद र आतंकवादीका लागि उर्वर भूमि नभएको जनाएको छ । अमेरिकाको विदेश मन्त्रालयले तया पारेको आतंकवाद सम्बन्धी प्रतिवेदन–२०१९ मा नेपाल आतंकवादका लागि उर्वर भूमि नभएको जनाइएको हो ।
‘सरकारले आतंकवाद र मुख्यतः द्वन्द्वबाट सिर्जित ‘अतिवादी’ विचारधारा वा मध्यपूर्वको अस्थिरतालाई सामान्यतया नेपालका लागि कुनै गम्भीर खतराको रुपमा लिँदैन,’ प्रतिवेदनमा उल्लेख छ ।
यद्यपि, अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपाली भूभागलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहहरुले ट्रान्जिटको रुपमा भने प्रयोग गर्न सक्ने खतरा भने देखाइएको छ ।
गैरनेपालीको अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरुले नेपाललाई ट्रान्जिट बनाउन वा आक्रमण गर्ने स्थल वा सफ्ट टार्गेट (निशाना) को रुपमा प्रयोग गर्नसक्ने खतरा प्रतिवेदनमा औल्याइएको हो ।
प्रतिवेदनमा भनिएको छ, ‘भारतसँग खुला सीमा भएको र देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाको कार्यविधि पर्याप्त नभएको हुँदा नेपाल अन्तर्राष्ट्रिय आतंकवादीहरुको ट्रान्जिट बन्नसक्छ ।’
अमेरिकाको विदेश मन्त्रालयले वर्षेनी विभिन्न देशमा हुनसक्ने आतंकवादी गतिविधिबारे प्रतिवेदन तयार गरी अमेरिकी संसदमा पेश गर्ने गरेको छ ।
नेपाल सामान्यतया आतंकवादी संगठनहरुका लागि उर्वरभूमि नभएको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘नेपालमा आतंककारी कट्टरता र भर्ना गराउने विषयलाई प्रतिवाद गर्न रणनीति कार्यान्वयन गरेको देखिदैन ।’
नेपालको राजनीतिक हिंसाको आकार सानो परिमाणमा मात्रै रहेको र तिनका आक्रमण मुख्यरुपमा भौतिक पूर्वाधार, सरकारी कार्यालय वा राजनीतिक दलहरु वा तीनका पदाधिकारीमा लक्षित रहेको प्रतिवेदनमा भनिएको छ ।
विप्लव माओवादीले राजनीतिक उद्देश्य प्राप्त गर्नका लागि कहिलेकाहीं आतंककारी गतिविधिको सहारा लिने गरेको भने उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्