३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


सीमा विवादबारे तीन पटकसम्म वार्ताका लागि प्रयास गरेपनि भारतले मानेनः मन्त्री ज्ञवाली


0
Shares

काठमाडौं, असार १२ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सीमा विवादबारे छलफलका लागि नेपालले पटक–पटक कोशिस गरे पनि भारतले इच्छा नदेखाएको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा बोल्दै मन्त्री ज्ञवालीले भारतले नेपाली भूभाग समेटेर राजनीतिक नक्शा सार्वजनिक गरेपछि गत नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि कोशिस गरेको जानकारी दिनुभएको हो ।

मन्त्री योगेश भट्टराईका अनुसार, ज्ञवालीले गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको तर सरकारले वार्ताका लागि पहल गरिरहेको बताउनुभएको थियो । उहाँले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार भने गलत रहेको बैठकलाई जानकारी गराउनुभएको छ ।

भारतको अनिच्छाकै बीचमा पनि नेपालले सीमा समस्या समाधानका लागि निरन्तर पहल गरिरहेको उहाँले बताउनुभएको छ । बैठक भारतसँगको सीमा विवादको विषयमा केन्द्रित रहेको छ ।

अधिकांश सदस्यहरुले भारतसँगको सीमा विवादको विषयमा सरकारले लिएको अडान सही भएको भन्दै भारतसँग वार्ता गर्न सुझाएका छन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित बैठक अर्का अध्यक्ष पुष्पकमल दाहालले चलाइरहनु भएको छ ।