काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसार रोक्न आमसमुदायको सहकार्य आवश्यक भएको बताउनुभएको छ ।
प्रत्येक वर्ष जुन २६ (आज) मनाइने लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरूद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री थापाले लागुऔषध दुरुपयोग रोक्न आफ्ना सन्तान र प्रियजनको शीघ्र शुद्धीकरण र सुमधुर पारिवारिक पुनःस्थापनामा जोड दिनुभएको छ ।
कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार सँगसँगै लागुऔषध दुरुपयोग रोकथाम तथा नियन्त्रणको कार्यमा आआफ्नो क्षेत्रबाट गरिएका प्रयासको उहाँले प्रशंसा गर्दै धन्यवाद दिनुभएको छ ।
‘लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्ध सबै निकाय एवं आमसमुदायको साथ र सहयोगका लागि अपिलसमेत गर्दछु’, मन्त्री थापाले सन्देशमा भन्नुभएको छ । लागुऔषध दुरुपयोगको विश्वव्यापी रुपमा बढ्दो चुनौती सामना गर्न संयुक्त राष्ट्रसङ्घ महासभाबाट घोषणा भई विगत तीन दशकदेखि यो दिवस मनाउन थालिएको हो ।
आज सारा विश्व र मानव समुदाय नै कोभिड–१९ सङ्क्रमणको महामारीसँग जुधिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध नियन्त्रण कार्यालयले तथ्य र साझा दायित्वमा आधारित समाधान खोज्नुपर्नेमा जोड दिएको छ ।रासस









प्रतिक्रिया दिनुहोस्