
नरेन्द्र मानन्धर र रक्षा बज्राचार्य (इमेज)
ललितपुर, असार ११ । काठमाडौं उपत्यकामा सिँचाइ र पानी आपूर्तिका लागि राजकुलोको ठूलो महत्व रहेको थियो ।
लिच्छविकालमा विकास गरिएका राजकुलोहरुको अहिले भने निशान फेला पार्नसमेत मुस्किल छ । तर, केही सम्पदाप्रेमीहरु लिच्छविकालीन राजकुलोको खोजीमा जुटेका छन् ।
लेलेखोला र नालुखोलाबीचमा रहेको ललितपुरको त्यांका भैलः आजु अथवा टीकाभैरवको मन्दिर । जुन क्षेत्र लिच्छविकालदेखि नै राजकुलोको मुहान अथवा सुरुआती विन्दु थियो । जसले पाटन सहर र सो क्षेत्र वरिपरि रहेका खेतबारीलाई हराभरा तुल्याउने गरेको थियो ।
शिवदेव र अंशुवर्माको अभिलेखमा राजकुलोको व्यवस्था र गोष्थिका अथवा गुथिको व्यवस्था रहेको उल्लेख गरिएको छ ।
यही पुरातात्विक र ऐतिहासिक महत्वको राजकुलो विभिन्न क्षेत्रमा सिँचाइको व्यवस्थासहित हिति, पोखरी र इनारमा पानीको स्रोतसमेत थियो ।
अव्यवस्थित सहरीकरणसँगै राजकुलो अतिक्रमणमा परेपछि यस क्षेत्रका अधिकांश हिति र पोखरीहरू सुकेका छन् ।
तर, अहिले ललितपुरको गोदावरी नगरपालिकाले टीकाभैरव राजकुलो पुनःनिर्माण र सरसफाइ गरिरहेको छ ।
टीकाभैरव लेलेदेखि पाटन दरबार क्षेत्र र कुपण्डोलसम्म फैलिएको राजकुलोले पुनर्जीवन पाउँदै छ ।
टीकाभैरव नल्लुदेखि ठेँचो हुँदै खुमलटारसम्म वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा राजकुलो सफाइ र मर्मत–सम्भार भइरहेको नगरपालिकाले जनाएको छ ।
चक्रपथ (रिङरोड) बन्नेक्रममा करिब चार किलोमिटर राजकुलो मेटिएको छ ।
प्राकृतिक पानीको स्रोतका रूपमा पुर्खाले बनाएको राजकुलो ऐतिहासिक सम्पदा भएको भन्दै यसलाई पुनर्जीवन दिनसके अहिलेपनि सिँचाइ र उपत्यकाको हिति, पोखरी सम्पदा बचाउन सकिने अभियन्ता आलोकसिद्धी तुलाधर बताउनुहुन्छ ।
२०४६ सालदेखि टुटेको भनिएको राजकुलो ललितपुर महानगरपालिकाले चक्रपथबाट पाटनतर्फ ल्याउन प्राविधिक अध्ययन भइरहेको जनाएको छ ।
टीकाभैरव राजकुलोलाई पुनर्जीवित गरेपछि ललितपुर क्षेत्रमा करिब साठी हजार रोपनी जमिनमा सिँचाइ हुनसक्नेसमेत जनाइएको छ ।
टीकाभैरवका स्थानीय जगतमान महर्जन हजारौं वर्ष पुरानो मौलिक सम्पदा राजकुलोको संरक्षण गरेर उपत्यकामा कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताउनुहुन्छ ।
यो राजकुलो पूर्णरुपमा सञ्चालन गर्नसके लतिलपुरका अधिकांश मौलिक सम्पदा हिति, पोखरी, इनार र कुवाले पुनर्जीवन पाउने छन् ।
काठमाडौं उत्तरतर्फ शिवपुरी पहाडबाट वसन्तपुर दरबार, भक्तपुरमा नगरकोटदेखि दरबार हुँदै सिद्धपोखरी र ललितपुरमा लेलेबाट पाटन दरबारसम्म राजकुलो विस्तार गरिएको थियो ।
अव्यवस्थित सहरीकरणका कारण काठमाडौंको राजकुलो भने मासिएको छ । त्यसैले दीर्घकालीन योजना बनाएर राजकुलो सम्पदाहरू पुनःस्थापना गर्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्