
काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ ।
मंगलबार महानगरपालिकाको सातौँ नगर सभामार्फत आगामी आर्थिक वर्षको लागि ७ अर्ब ४७ करोड बराबरको बजेट ल्याइएको हो । महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उक्त बजेट वक्तव्य वाचन गर्नुभएको थियो । महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि प्रशासनिक खर्चतर्फ २९ प्रतिशत र पुँजीगत खर्चतर्फ ६१ प्रतिशत बजेट विनियोजन गरेको नगरप्रमुख चिरीबाबु महर्जनले बताउनुभयो ।
उहाँले शिक्षा, स्वास्थ्य र खानेपानीलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याइएको बताउनुभयो । उहाँले ललितपुर महानगरपालिका सम्पदा सहर भएकोले सम्पदा क्षेत्रमा गर्नुपर्ने कामहरूलाई विचार गरेर बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो । नगरप्रमुख महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने सन्दर्भमा हरियाली, पार्क र पोखरीको राम्रो व्यवस्थापन हुने गरी बजेट ल्याइएको समेत जिकिर गर्नुभयो ।
नगरप्रमुख महर्जनले लगनखेलको सप्तपातल पोखरीलाई प्राथमिकतामा राखेर यहीँ वर्षमै सम्पूर्ण काम सम्पन्न गर्ने गरी बजेटको व्यवस्था गरिएको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्