
काठमाडौं, असार ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चीनतर्फ नेपालको भूमि अतिक्रमणको विषयमा वास्तविक पहिचान गरी कूटनीतिक पहलमार्फत् समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद तारादेवी भट्टले उत्तरी सीमातर्फका नेपालका सातवटा जिल्लाका विभिन्न भाग चीनले अतिक्रमण गरेको सार्वजनिक भइरहेको भन्दै वास्तविक तथ्य पहिचान गरी कूटनीतिक पहलमार्फत् समस्या समाधान गर्न सरकारसँग माग गर्नुभएको हो ।
सांसद भट्टले कोरोना परीक्षणमा प्रयोग हुने ‘पीसीआर टेस्ट किट’ गुणस्तरहीन रहेको सार्वजनिक भइरहेको भन्दै सदनलाई जानकारी दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सत्तारुढ दल नेकपाकी सांसद विमला पौड्याल राईले ‘लकडाउन’का कारण निजी विद्यालयमा कार्यरत् झन्डै दुई लाख शिक्षक र कर्मचारी समस्यामा परेको भन्दै आवश्यक राहत प्याकेजको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले समस्यामा परेका निजी विद्यालयलाई पनि राहतको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद राईले बन्दाबन्दीको समयमा सांसदहरुले यातायात र बैठक भत्ता बुझेको विषयमा स्पस्ट पार्न संसद सचिवालयको ध्यानाकर्षण गराउनुभयो ।
नेकपाकै सांसद चक्रप्रसाद स्नेहीले सुदूरपश्चिम प्रदेशमा पीसीआर परीक्षण गरेर कोरोना संक्रमण प्रमाणित हुँदापनि स्थानीय तहले घर पठाउने गरेको भन्दै तत्काल उक्त कार्य रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनता समाजवादी पार्टीका सांसदद्वय प्रमिला कुमारी र शेखरकुमार सिंहले अंगीकृत नागरिकता प्राप्तीको सातवर्षे समयसीमाले मधेसी जनताको सामाजिक, साँस्कृतिक र पारिवारिक सम्बन्ध भत्काउने षड्यन्त्र भएको आरोप लगाउनुभयो ।
राष्ट्रियसभाको अर्को बैठक असार १५ गते बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्