असान्जमाथि अभियोग बढाउँदै अमेरिका, फेरि थपियो नयाँ अभियोग • Image Khabar Image Khabar


असान्जमाथि अभियोग बढाउँदै अमेरिका, फेरि थपियो नयाँ अभियोग


Imagekhabar
११ असार २०७७, बिहीबार १३:४२

असान्जमाथि अभियोग बढाउँदै अमेरिका, फेरि थपियो नयाँ अभियोग

वासिङ्टन । अमेरिकी न्याय विभागले विकिलिक्सका संस्थापक जुलियन असान्जले ह्याकर्स नियुक्त गरी अमेरिकी संवेदनशील कम्प्युटर प्रणालीभित्र सम्पर्क कायम गरेको प्रमाण आफूसँग भएको नयाँ अभियोग लगाएको छ ।

असान्जमाथि यसअघि नै अमेरिकाले १८ वटा अभियोग लगाइसकेको छ र पछिल्लो अभियोग अतिरिक्त अभियोग नभए पनि यसअघिका मुद्दालाई थप बल पुर्‍याउनेतर्फ केन्द्रित छ ।

न्याय विभागले अद्यावधिक गरेको अभियोगमा असान्जले लल्जसेक र एनोनिमस ह्याकर समूहका मानिसलाई अमेरिकी गुप्तचर सामग्रीमा सम्पर्क स्थापित गर्न प्रयोग गरेको उल्लेख छ ।

न्याय विभागले जारी गरेको वक्तव्यमा विकिलिक्सले एउटा नेटो मुलुकको सरकारी कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच हासिल गरेको उल्लेख छ ।

असान्जमाथि अफगानिस्तान र इराकमा अमेरिकी सैन्य कारबाहीका गोप्य दस्ताबेजहरु सन् २०१० मा सार्वजनिक गरेको आरोप छ ।

अमेरिकाले असान्जको यो कार्य अमेरिकी गुप्तचर ऐन विपरीत रहेको भन्दै असान्जमाथि अमेरिकामा मुद्दा चलाउन चाहेको छ ।

अमेरिकाले ४८ वर्षीय अस्ट्रेलियाली नागरिक असान्जले अमेरिकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ मार्फत अमेरिकी गोप्य सूचना चोरेको आरोप लगाइरहेको छ ।

विकिलिक्सले बुधबार ट्वीट गर्दै अमेरिकी न्याय विभागले जुलियन असान्जमाथि जबर्जस्ती मुद्दाहरु बनाउँदै लगेको बताएको छ ।

असान्ज हाल दक्षिण लन्डनको सुरक्षा व्यवस्था निकै कडा रहेको बेलमार्श कारागारमा हुनुहुन्छ ।

उहाँलाई अमेरिका सुपुर्दगी गर्ने विषयमा हाल बेलायती अदालतमा मुद्दा चलिरहेको छ ।

उहाँले सन् २०१२ मा लन्डनस्थित इक्वेडरको राजदूतावासमा शरण लिनु भएको थियो ।

तर उहाँलाई गत वर्ष बेलायत प्रहरीले राजदूतावासबाट निकालेर जेलमा राखेको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्