१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


भोटेकोशीमा अध्यक्ष र उपाध्यक्षको कोषमा लाखौं बजेट, तीन वडाध्यक्षद्वारा बहिष्कार


0
Shares

काठमाडौं । भोटेकोशी गाउँपालिकाका तीन वडाध्यक्षहरुले गाउँपालिकाको सातौं गाउँसभा बहिष्कार गरेका छन् । वडा नम्बर १, २ र ४ का वडाध्यक्षहरुले गाउँपालिकाले मनोमानी ढंगले बजेट विनियोजन गरेको भन्दै बुधबारको नीति तथा कार्यक्रम र बजेट बहिष्कार गरेका हुन् ।

बुधबार भोटेकोशी गाउँपालिकाले आर्थिक वर्ष ०७७ ७८ का लागि अनुमानित बजेट ल्याएको थियो । गाउँपालिकाका ५ वटा वडाका ३ जना वडाध्यक्षले बजेट सार्वजनिकीकरण कार्यक्रम बहिष्कार गरेका हुन् ।

वडा नम्बर १ का मुके शेर्पा, ४ का साङदोर्जे शेर्पा र २ का केलाश पौडेलले बजेटको सार्वजनिकीकरण बहिष्कार गरेका हुन् । उनीहरु तीनैजना काँग्रेसबाट निर्वाचित हुन् । उनीहरुले ४६ करोडको बजेट गाउँपालिकाले प्रस्तुत गर्दा वडामा ८० लाख बजेट मात्रै दिएको भन्दै असहमति जनाएका हुन् ।

वडा नम्बर ४ का वडाध्यक्ष शेर्पाले विकासको माग वडामा धेरै भएको तर बजेट भने एकदमै कम भएकाले बजेट १ करोड ५० लाख विनियोजन गर्न गाउँपालिका अध्यक्षलाई भन्यौं तर अध्यक्षज्यूले मान्नुभएन त्यसैले बहिष्कार गरेको बताउनुभएन । उहाँले भन्नुभयो, गत वर्ष पनि विकास बजेट खर्च गर्न नसकेर ६ करोड फ्रिज भयो हामीलाई बजेट देउ हामी काम गर्छैं भन्दा मान्नुभएन ।

गाउँपालिकाले अध्यक्ष र उपाध्यक्षका नाममा लाखौ बजेट राखेर वडामा बजेट नदिएको वडाध्यक्ष १ का मुके शेर्पाको तर्क छ । अध्यक्ष रोजगार कोष, उपाध्यक्ष कोष बनाएर झन्डै डेढ करोड बजेट विनियोजन गर्ने तर वडालाई चारो छरेको जस्तो गर्ने उँहाले आक्रोश पोख्नुभयो ।

गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा अध्यक्ष रोजगार कार्यक्रम भनेर ५० लाख बजेट विनियोजन गरिएको छ भने अध्यक्ष कोष भनेर छुट्टै कोष बनाइएको छ । यो केन्द्रको प्रधानमन्त्री रोजगार कोषको ठ्याक्कै नक्कल जस्तो देखिन्छ । साथै वडाध्यक्षहरुले गाउँपालिकाको भवन निर्माण गाउँपालिकाको केन्द्रमा नभएको बताएका छन् ।

गाउँपालिकाको सेन्टरमा गाउँपालिका भवन निर्माण गनुपर्ने हो तर अध्यक्षले आफूखुशी हिन्दीमा भवन निर्माण गर्न लागेको वडाध्यक्ष साङदोर्जे शेर्पाको आरोप छ । बनाउन लागेको भवन सडकको मापदण्ड पुरा नगरेको र खोला किनारबाट १ सय मिटर नजिक रहेको उहाँले जानकारी दिए ।

सर्वोच्चले भवन निर्माणको काम रोक्न भन्दाभन्दै भवनमा २ करोड रकम विनियोजन गरेको प्रतिपनि वडाध्यक्षहरुको आपति छ । भोटेकोशीमा पाँचवटा वडा छ ।