३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नेकपा स्थायी कमिटी चलिरहेकै समयमा किन आयो परराष्ट्रमन्त्रीलाई अमेरिकी विदेशमन्त्रीको टेलिफोन ?


0
Shares

काठमाडौं, असार ११ । अमेरिकी अनुदानको सहयोग परियोजना मिलनियम च्यालेञ्ज कर्पोशन(एमसीसी) को भविष्य तय गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को स्थायी कमिटी बैठक बसेकै दिन अमेरिकी विदेशमन्त्रीले नेपाली समकक्षीलाई फोन गरेका छन् ।

नेकपाभित्रका नेताहरुको अहं र तूष्टीमा ५५ अर्बको विकासे अनुदान परियोजना तूहाउने खेल भइरहेकै बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई अमेरिकी समकक्षी माइक पोम्पेओले बुधबार टेलिफोन गरेका हुन् ।

नेकपामा अनुदान सहायताको एमसीसी तूहाएर चिनियाँ ऋणैऋणको बीरआरआईका पक्षमा समर्पण देखाउनेहरुको संख्या अधिक भएपछि यो परियोजना के हुन्छ भन्ने आशंका बढेको छ ।

अनुमोदनका लागि संसदमा लगिसकिएको एमसीसी परियोजना लिने कि नलिने भन्ने बहस चलाउन नेकपाले स्थायी कमिटीको एजेण्डा नै बनाएका दिन अमेरिकी विदेशमन्त्री पोम्पेओले नेपाली समकक्षीसँग टेलिफोन वार्ता गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुई मन्त्रीबीच कोभिड १९ महामारी र समसामयिक विषयमा कुराकानी भएको छ । दुई मन्त्रीहरुले एकअर्काे देशमा कोरोनाका कारण ज्यान गुमाउनेप्रति समवेदना व्यक्त गरेका थिए ।

दुई मन्त्रीबीच विकास परियोजनामा हुने साझेदारीको महत्वका बारेमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ । मन्त्री ज्ञवालीले नेपालको स्वास्थ्य क्षेत्र, कोरोनाभाइरस लगायतका परियोजनामा अमेरिकी सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले भविष्यमा पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको मन्त्रालयले जनाएको छ । असार १६ गतेभित्र संसदबाट एमसीसी अनुमोदन गराइसक्नुपर्ने समयसीमा रहेकै बेला सभामुख अग्नि सापकोटाले उक्त समय कटाउने गरी संसद बैठक स्थगित गरिदिएपछि अब के हुने भन्ने अन्यौल भएको थियो ।

यस्तो पृष्ठभूमिमा पोम्पेओ र ज्ञवालीबीच टेलिफोन संवाद भएको तथा नेपाललाई सहयोग जारी राख्ने प्रतिवद्धता अमेरिकाले गरेकाले एमसीसी अनुमोदनका लागि राखिएको समयसीमामा अमेरिका केही लचक हुनसक्ने अनुमान गरिएको छ ।

नेकपामा प्रधानमन्त्री ओली एमसीसी अनुमोदन गरेर जानुपर्ने, त्यसो नगर्दा मुलुकको छबीमाथि नै प्रश्न उठ्ने भनिरहनुभएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेताहरु संशोधन बिना अनुमोदन नगर्ने अडानमा छन् ।