
-दुर्गा उपाध्याय/ईमेज
कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको १० महिना पुगेको छ ।
गत साउन १० गते हराएकी उनको ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
घटना भएको १० महिना वितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन ।
१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको १० महिना पुग्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन । योसँगै निर्मला हत्याकाण्ड विस्तारै सेलाउँदै गएको छ ।
सिआइबीसहित आधा दर्जन बढी प्रहरी टोलीले अनुसन्धान थाले पनि १० महिनासम्म घटनामा संलग्न व्यक्ति पहिचान हुन सकेको छैन ।
लामो समयसम्म दोषि पत्ता नलागेपछि अहिले आन्दोलन र दवावका कार्यक्रम पनि सेलाउँदै गएका छन् ।
निर्मलाकी आमा दुर्गादेवी भने अझै छोरीको न्यायका लागि विभिन्न निकायमा भौंतारिइरहनुभएको छ ।
सरकारले दिएको राहतले अरु छोरीको पालनपोषण र पढाइमा खर्च गर्दै उहाँ निर्मलाको न्यायका लागि भौतारिरहेकी हुन् ।
निर्मला हत्याकाण्डमा सरकारले विभिन्न समिति बनाएर अनुसन्धान गरे पनि उपलब्धि हात पार्न सकेको छैन ।
कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्य भने अनुसन्धान जारी रहेको र विभिन्न प्रमाणका आधारमा यसलाई साँघुरो दायरामा ल्याइएको दाबी गर्छन ।
निर्मलाको हत्यापछि पीडित पक्षलाई न्याय दिलाउन मन्त्रीदेखि सबै राजनीतिक दलले विभिन्न आश्वासन दिए ।
तर पनि अपराधी पत्ता लाग्न नसकेकाले अब छोरीले न्याय पाउनेमा आशा मर्दै गएको निर्मलाकी आमा दुर्गादेवी बताउँछिन् ।
निर्मलाको हत्यापछि अधिकारकर्मीहरुसँगै मिलेर स्थानीयले गरेको लामो आन्दोलन अहिले फितलो बनेको छ ।
अधिकारकर्मी शारदा चन्दले सरकारले नै अपराधिलाई लुकाउन खोजेकाले कारबाही नभएको आरोप लगाइन ।
निर्मला हत्याकाण्ड भएको १० महिना वितिसक्दा पनि दोषी पत्ता लाग्न नसक्नु कानुनी राज्यको उपहास हो ।
दोषीलाई पक्राउ गरी कारबाही गरेर पीडित परिवारलाई न्याय दिन सकेमा मात्र कानुनी राज्यको अनुभूति गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्