
लक्ष्मीप्रसाद सापकोटा (इमेज)
पर्वत, असार ८ । पर्वतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएका पाँचजना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ६० जनाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि गरिएको ‘कन्ट्याक्ट ट्रेसिङ’मा स्वाब संकलन गरी पठाइएका ८१ नमुनामध्ये ६२ ओटाको रिपोर्ट आएको हो । जसमध्ये ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ । दुईजनाको ‘पोजिटिभ’ आएको हो ।
पर्वत जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाकाअनुसार ८१ जनाको स्वाब संकलन गरी पठाइएकोमा अहिलेसम्म ६२ जनाकोमात्र रिपोर्ट आएको हो । अझै १९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
आइतबार बिहान २६ जनाको रिपोर्ट आएकोमा थप दुईजनामा संक्रमण पुष्टि भएको थियो । एकजना स्वास्थ्यकर्मी र अर्का एक स्वास्थ्यकर्मीका परिवारका सदस्य रहेका थिए ।
सोमबार ३६ जनाको रिपोर्ट नेगेटिभ आएको डा. देवकोटाले जानकारी दिए ।
पर्वतमा छजना स्वास्थ्यकर्मी र एकजना स्वास्थ्यकर्मीको परिवार गरी सातजनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी, सातजनामध्ये शुक्रबार पोजिटिभ देखिएका दुईजना चिकित्सकको रिपोर्ट नेगेटिभ आइसकेको जनाइएको छ ।
अहिले पोजिटिभ देखिएकाहरु ब्लु एन्जलको ‘आइसोलेसन’मा रहेका छन् ।
रिपोर्ट नेगेटिभ देखिएका दुईजनालाई ‘होम क्वारेन्टिन’मा राखिने डा. देवकोटाले बताए ।
यसअघि, भारतबाट फर्किएका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । तीमध्ये आठजना निको भएर घर फर्किइसकेका छन् । बाँकी कुश्माकै अस्थायी कोरोना अस्पतालमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्