
काठमाडौं, जेठ ८ । आफ्नै छोरालाई लागुऔषधको लतमा फसाउने आमालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले बुधबार पत्रकार सम्मेलन गरी काभ्रेको बनेपा घर भइ काठमाडौंको बालाजु बस्र्दै आएकी ६० वर्षीया सावित्री श्रेष्ठलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
अभियुक्त श्रेष्ठले लामो समयदेखि लागुऔषधको कारोबार गर्ने गरेको र आफ्ना दुई छोरालाई घरमै लागुऔषध सेवन गराउने गरेको पाइएको प्रहरीले जनाएको छ ।
झन्डै ८ वर्षदेखि भारतीय सीमाबाट लागुऔषध मगाउने र काठमाडौंमा बिक्री गर्ने गरेको पनि प्रहरीले जनाएको छ ।
श्रीमान्सँग छुट्टिएर बसेकी उनले छोरा–बुहारीसमेतको सहयोगमा लागुऔषधको कारोबार गर्ने गरेको र उनका छोराहरुको स्वास्थ्य स्थिति लागुऔषध प्रयोगका कारण नाजुक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अभियुक्त श्रेष्ठका साथबाट ६७० एम्पुल डाइजेपाम, बुप्रेनोर्फिन ५६१ र फेनारगन ५६० एम्पुलसहित एक लाख ४१ हजार रुपैयाँ बरामद गरेको छ ।
चरेससहित पक्राउ
यसैबीच, १७ केजी लागुऔषध चरेससहित झापाका सन्जय दर्जी, मनोज दर्जी, धनकुटाका राजकुमार गुरुङलाई प्रहरीले झापाको टोकला बगानबाट पक्राउ गरेको पनि ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्