‘नोक्सानीको सानो अंशमात्र विमा गरिएको रहेछ’ • Image Khabar Image Khabar


‘नोक्सानीको सानो अंशमात्र विमा गरिएको रहेछ’


Imagekhabar
३ चैत्र २०७२, बुधबार ०३:२२

‘नोक्सानीको सानो अंशमात्र विमा गरिएको रहेछ’

गत वैशाखमा गएको भूकम्पबाट जनधनको क्षति भएपछि मानिसमा विमाप्रति चासो बढ्न थालेको छ । प्राकृतिक विपद तथा विभिन्न प्रकारका दुर्घटनाबाट हुन सक्ने जोखिम हस्तान्तरण गर्ने माध्यम भएकाले पनि विमामार्फत मानिसले आर्थिक भारको दायित्व हस्तान्तरण गर्न सक्छन् । नेपालमा विमा बजार कस्तो छ र विमा कम्पनीहरुका सामू के–कस्ता चुनौनि छन् भन्ने विषयमा आम नागरिकको चासो बढ्नु स्वाभाविक नै हो । प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत रहि एनएलजी इन्स्योरेन्सका कार्यकारी प्रमुख विजयबहादुर शाहसँग गरिएको कुराकानी :

विमा क्षेत्रमा एनएलजीले गरेको योगदान कस्तो छ ?

२०७२ वैशाख १२ मा आएको महाभूकम्पले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई कुनै न कुनै रुपमा असर पार्‍यो । हामी कोही पनि यस्ता थिएनौं जसलाई त्यो भूकम्पले प्रभाव नपारेको होस् । सुरुका केही दिन हामी पनि आत्तिएको अवस्था थियो । त्यसपछि हामीले पहिला आफू नै संयमित हुनु पर्दछ र आफ्ना ग्राहकप्रतिको उत्तरदायित्व वहन गर्नुपर्छ भनेर अगाडी बढ्यौं । महाभूकम्पको पर्सिपल्ट अर्थात् वैशाख १४ गते हामीले नियमित कारोबार सुरु गर्‍यौं र हामीले बिमा गरेका संरचना या सम्पत्तिको क्षतिको मूल्यांकन गर्न सर्वेयरहरु पठाउने काम थाल्यौं ।

त्यसरी सर्वेयरहरु पठाउँदा आफ्नै विवेक प्रयोग गर्नुभयो या तपाईका ग्राहकहरुले दिएको सूचनाअनुसार पठाइयो ?

भूकम्पले सबैलाई समान किसिमले प्रभाव पारेको थिएन । त्यसैले अनुमानित रुपमा कम क्षति भएको संरचनाको सर्वेक्षणमा हामीले आफ्नै कर्मचारीलाई पठायौं । किनकी हामीलाई छिटोभन्दा छिटो दाबीको भुक्तानी दिनु थियो । हामीले जति छिटो दाबीको भुक्तानी गर्छौं, उत्तिनै छिटो मानिसले आफ्ना संरचना मर्मततिर लाग्छन् र सुरक्षित निवासमा फर्कन्छन् भन्ने हाम्रो विश्वास थियो । त्यसैले साना संरचनाको मूल्यांकनका लागि हामीले आफ्नै कर्मचारी पठायौं । ठूला संरचनाको क्षतिको मूल्यांकनका लागि त्यसको प्रकृति हेरेर त्यसै विषयका ज्ञाता सर्वेयरहरुलाई पठाइयो ।

निश्चय नै लामो अन्तरालमा आएको त्यो एउटा प्रलय थियो । त्यसका लागि हामी कोही पनि तयारी अवस्थामा थिएनौं । त्यस्तो अवस्थामा हाम्रा सर्वेयरहरु पनि पर्याप्त नहुन सक्छन् भनेर हामीले छिमेकी मुलुकबाट पनि सर्वेयरहरु बोलाएका थियौं । हाम्रा पुनर्विमकहरुले छिमेकी मुलुकबाट सर्वेयरहरु पठाइदिए । त्यसरी आएका सर्वेयरहरुलाई हामीले कम्प्लेक्सजस्ता ठूला संरचनाको मूल्यांकनमा प्रयोग ग¥यौं । समष्टिगत रुपमा भन्नुपर्दा त्यो स्वस्फूर्त सहयोगको भावना थियो । छिटोभन्दा छिटो क्षतिको मूल्यांकन गरेर दाबी भुक्तानी गर्नुपर्छ भनेर हामीले हरसम्भव प्रयास ग¥यौं ।

गोरखा भूकम्पको पर्सिपल्ट नै हामीले साना दाबीको भुक्तानीका लागि सरलीकृत प्रक्रिया तयार पार्‍यौं । सबै बिमा कम्पनीले साझा रुपमा तयार पारेको त्यो प्रक्रियामा ५० हजार रुपैयाँसम्मको क्षतिको भुक्तानीका लागि साधारण प्रक्रिया अवलम्वन गरिरहन नपर्ने भन्दै सरलीकृत प्रक्रियाबाट क्षतिपूर्ति दिने निर्णय गरियो । त्यसको जानकारी हामीले बिमा समितिलाई पनि दियौं । जसले गर्दा आंशिक क्षति भएका संरचनाको भुक्तानी ग्राहकहरुले निकै छिटो पाउनु भयो ।

एनएलजी इन्स्योरेन्सले गोरखा भुकम्पको १५ औं दिन ६ वटा दाबीको भुक्तानी गर्‍यो । तीमध्ये दुईवटा भुक्तानी काठमाडौंमा बिमित कै घरदैलोमा पुगेर दियौं भने चार वटा बनेपामा सामान्य कार्यक्रम आयोजना गरेर भुक्तानी गर्‍यौं । त्यो आपतको घडीमा धेरै लामो समयपछि सम्पूर्ण नेपालीहरु एकजुट भएका थिए । सबैले एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने भावना स्वस्फूर्तरुपमा देखियो । बिमाको दाबी भुक्तानीको फर्छ्यौट पनि त्यसैको एक उदाहरणका रुपमा रह्यो ।

एनएलजीमा घर संरचनाको बिमा गर्नेको संख्या कति छ ?

हामीले करिब १५ हजारको हाराहारीमा बिमालेख जारी गरेका छौं । तर त्यसमध्ये हामीलाई एक हजार तीन सय ५३ वटा दाबीका प्रस्ताव आए । यसका विभिन्न कारण हुन सक्छन् । जुनअनुपातमा क्षति भयो, त्यसको तीन प्रतिशतको हाराहारीमा मात्र बिमा भएको रहेछ ।

भूकम्पबाट नौ हजारभन्दा बढी मानिसको मृत्यु भयो । तर तीमध्ये साढे तीनसयको हाराहारीमा मात्र बिमा गरेका मानिस थिए । अर्थात् तीन–साढेतीन प्रतिशतको मात्र बिमा भएको रहेछ । त्यस्तै पाँचलाख भन्दा बढी घर पूर्ण रुपमा भत्किए । तर साढे १७ हजारको मात्र दाबी आएको अवस्था थियो । यसबाट के देखिन्छ भने जति नोक्सानी भयो, त्यसको एउटा सानो अंशमात्र बिमा भएको रहेछ ।

बिमाप्रति मानिसको झुकाव नदेखिनुको कारण के हुन सक्छ ?

भूकम्प आउनु अघिसम्म बिमालाई बाध्यकारी तथा थप खर्च हुने एउटा शीर्षकका रुपमा मात्र मानिसले बुझे । त्यसैले पनि धेरैजसोले बिमा नगरेपनि हुन्छ भन्ने सोच राख्दथे । बिमालाई औपचारिकतामात्र ठान्नेहरुको संख्या पनि निकै ठूलो थियो । कतिपयले भने आंशिक बिमामात्र पनि गर्दथे । जस्तो कि, एक लाख रुपैयाँ बराबरको सम्पत्तिका लागि कसैले बैंकबाट २० हजार रुपैयाँ ऋण लिएको अवस्थामा उसले त्यही २० हजार रुपैयाँ बराबरकै बिमा गरेको हुन्थ्यो । त्यस्तो अवस्थामा क्षति हुँदा बिमितले २० हजार रुपैयाँकै परिधिभित्र क्षतिपूर्ति पाउँछ ।

तपाईहरुले क्षतिपूर्तिको दाबी गर्ने सबै ग्राहकलाई क्षतिपूर्ति दिइसक्नु भयो ?

सबैले त पाइसकेका छैनन् । हामीले लगभग ७५ प्रतिशत दाबीको भुक्तानी गरिसक्यौं । १३५३ वटा दाबीमध्ये ९९५ वटा भुक्तानी भइसकेका छन् । त्यस्ता संरचना जसको मर्मत तत्काल गर्नुपरेको छ, तर मूल्यांकन गर्न समय लाग्छ, तिनलाई हामीले सूचना निकालेर पेश्की लैजान आह्वान गरेको अवस्था पनि छ । केही ग्राहकले पेश्की लिएर जानुभएको पनि छ । केही ठूला संरचनाको मूल्यांकन हुने प्रक्रिया सुरु भएको छ । जस्तो कि, हाइड्रो पावरको क्षतिको मूल्यांकन अब सुरु हुन्छ । किनकी त्यहाँ अहिले आएर पानीको सतह घटेको छ ।

भूकम्प अघि र भूकम्पपछि बिमाको बजारमा त्यस्तो कुनै परिवर्तन देखिएको छ ?

भूकम्प अघि बिमालाई बाध्यात्मक रुपमा बुझिन्थ्यो भने अहिले आएर बिमा गर्नुपर्ने रहेछ भनेर मानिसले बुझ्न थालेका छन् । यो नै ठूलो भिन्नता हो । तर पनि अपेक्षा अनुसार बिमाको बजार बढेको छैन । यसका पनि आफ्नै कारण छन् । मुलुकको अवस्था, मानिसको प्राथमिकता आदि कारणले बिमा बजारले प्राथमिकता नपाएको हुन सक्छ ।

बैशाख १२ मा भूकम्प आयो, त्यसको एक डेढ महिना तपाईहामी सबैजना त्रसित भएर घर बाहिरै बसेको अवस्था थियो । त्यसको लगत्तै अघोषित नाकाबन्दीले अन्यौलता बढाएको छ । यो भूकम्पले सबैभन्दा ठूलो चेतना बैंक तथा बित्तीय संस्थामा जगाएको छ । पहिला बैंक तथा बित्तीय संस्थाले आफ्नो स्वार्थको मात्र बिमा गराउँथे । जस्तो कि अघि मैले भनेँ, कसैले एक लाख रुपैयाँको सम्पत्तिका लागि बैंकबाट २० हजार रुपैयाँ ऋण लिएको थियो भने त्यही २० हजार रुपैयाँको मात्र बिमा गरिएको हुन्थ्यो । तर भूकम्पपछि उनीहरु शतप्रतिशत बिमाको अवधारणा बनाउन थालेका छन् । आंशिक बिमाले आफ्नो लगानी सुरक्षित नहुने रहेछ, लगानी सुरक्षित गर्नका लागि शत प्रतिशत नै बिमा गर्नुपर्ने रहेछ भन्ने चेतना बैंक तथा बित्तीय संस्थामा देखिएको छ ।

सर्वसाधारणमा पनि बिमा गर्नुपर्ने रहेछ भन्ने चेतना त जागेको छ । तर अहिले मुलुकको परिस्थिती र जनताको प्राथमिकता विभिन्न कारणले अन्यत्र मोडिएको छ । मानिसहरु दैनिक आवश्यकता पुरा गर्नका लागि नै बढी चिन्तित हुनु परिरहेको अवस्था छ ।

बिमासम्बन्धी चेतना मानिसमा किन बढ्न नसकेको होला ?

बिमाको सबैभन्दा बढी प्रयोग उद्योगीले नै गरेको पाइन्छ । उद्यमलाई सरलीकृत गर्नकै लागि बिमाको विकास भएको हो । बिमा गरेमा आफूले गर्ने व्यवसायको आकारलाई बृद्धि गर्न सकिन्छ किनकी आगो, हुरी बाढी, पहिरो, हुलदंगाबाट हुने जोखिमलाई बिमामार्फत हस्तान्तरण गर्न सकिन्छ । त्यसैले देशमा उद्यमशीलताको विकास नहुनुसँग बिमाको प्रत्यक्ष सम्बन्ध हुन्छ । कुटोकोदालो गरेर बस्नेहरुमा बिमाको बारेमा खासै चासो देखिएको छैन ।

भूकम्पबाट भएको क्षतिको बिमा दाबीबापत एनएलजीले कति रकम व्यहोर्नु परेको छ ?

हामीलाई करिब ८० करोड रुपैयाँको दाबी प्राप्त भएको छ । त्यसमध्ये २६ करोड रुपैयाँ भुक्तानी दिइसकेका छौं । केही ठूला संरचनाको दाबी भुक्तानी हुन बाँकी छ । यस्ता प्रकोपमा धेरै देशलाई बिमा दाबी भुक्तानीका लागि वर्षौं लागेको उदाहरण पनि छन् । तर हामीले त्यस अनुपातमा निकै छिटो र छरितो प्रक्रियाबाट भुक्तानी दिएका छौं ।

जनसंख्याको अनुपातमा नेपालमा कति प्रतिशत मानिस बिमासँग जोडिएका छन् ?

करिब ७ प्रतिशत जनसंख्यामात्र बिमासँग जोडिएको मोटामोटी तथ्यांक छ । समग्र जनसंख्यामा करिब २० प्रतिशत मानिस आफैं बिमासँग जोडिन सक्ने अवस्थाका छैनन् । अर्थात् उनीहरु बालबालिका हुन् । यो जनसंख्यालाई हटाउने हो भने करिब १५ प्रतिशत मानिसमा बिमा सेवा पुगिसकेको छ । तर यो महाभूकम्पको तथ्यांक हेर्ने हो भने कुल क्षतिको तीन प्रतिशतमात्र बिमा भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्