‘नेपाल आप्रवासमा विश्वमै सबैभन्दा बढी दुःख पाएको मुलुक’ • Image Khabar Image Khabar


‘नेपाल आप्रवासमा विश्वमै सबैभन्दा बढी दुःख पाएको मुलुक’


Imagekhabar
८ चैत्र २०७२, सोमबार १३:४७

‘नेपाल आप्रवासमा विश्वमै सबैभन्दा बढी दुःख पाएको मुलुक’

काठमाडौं, चैत ८ । विकासका लागि बसाइँ–सराइ आवश्यक भएपनि सुरक्षित आप्रवासनमा जोड दिइएको छ ।

राष्ट्रिय योजना आयोगले १४औं चरणको योजना निर्माण गरिरहेको सन्दर्भमा आयोग र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम) नेपालको सहकार्यमा सोमबार राजधानीमा भएको छलफलका क्रममा उक्त जोड दिइएको हो ।

आयोगका सदस्यसचिव सुरेशमान श्रेष्ठले विकास चाहने हो भने आप्रवासन चाहिने र नेपालको अर्थतन्त्रमा पनि विप्रेशणको महत्वपूर्ण योगदान रहेको बताए ।

तर, संसारमा आप्रवासमा सबैभन्दा बढी दुःख पाएको मुलुक नेपाल रहेको भन्दै यसलाई सुरक्षित बनाउनैपर्नै र सरकार लागिपरेको पनि उनले उल्लेख गरे ।

उही रोजगारीमा कुनै देशकाले ६ सय डलर कमाइरहेकोमा नेपालीले १ सय डलरमा काम गरिरहेको यथार्थ व्यक्त गर्दै उनले वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरुले बढी दुःख पाइरहेको बताए ।

कामदार लिने मुलुकका यी समस्या उजागर गरेर समाधामा पहल गरिदिन उनले आइएलओ, इयु, युनलगायत विकास साझेदारसमक्ष आह्वान पनि गरे ।

कार्यक्रममा सहभागीहरुले अन्तर्राष्ट्रिय आप्रवासनकोमात्र कुरा बढी हुने गरेको तर दुई तिहाइभन्दा बढी आन्तरिक बसाइँ–सराइ हुने गरेकोप्रति पनि राज्यको ठोस धारणा हुनुपर्नेमा पनि जोड दिए ।

अन्तर्राष्ट्रिय आप्रवासनले सामाजिक समस्या पनि उत्तिकै निम्त्याउँदे गएकोप्रति सचेत हुनुपर्ने समय आएको पनि सहभागीले बताए ।

वैदेशिक रोजगारीले रेमिट्यान्स आएपनि उपभोगमै बढी खर्च हुने गरेको छ । मुलुकमा रोजगारी सिर्जना गरेर युवा पलायन रोक्नुपर्नेमा पनि केही सहभागीले जोड दिए ।

पैसा कमाउन जानैपर्नेलाई दक्ष बनाएर पठाउन र उनीहरुलाई फर्काउने वातावरण बनाउन पनि धेरैले सुझाए ।

मान्छे बाहिर पठाएरमात्र देश विकास नहुने भएकाले फर्किएर यही काम गर्ने वातावरण बनाउनैपर्नेमा अधिकांशले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्