ल्हारक्याल लामा ३० लाख धरौटी बुझाएर छुटे • Image Khabar Image Khabar


ल्हारक्याल लामा ३० लाख धरौटी बुझाएर छुटे


Imagekhabar
१० चैत्र २०७२, बुधबार १२:३२

ल्हारक्याल लामा ३० लाख धरौटी बुझाएर छुटे

काठमाडौं, चैत १० । एकीकृत नेकपा माओवादीका निलम्बित सांसद ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता एवं निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा बुधबार लामाकोे बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको जानकारी दिए । धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन् ।

गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनकाक्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उनी पक्राउ परेका थिए ।

पक्राउ परेका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छोडेलगत्तै वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।

पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए ।

प्रवक्ता रेग्मीले लामा रिहा भएपनि उनकाबारेमा परेको उजुरीका सम्बन्धमा छानबिन जारी रहेको जानकारी दिए । रासस

फाइल फोटो

प्रतिक्रिया दिनुहोस्