फुटबल विवाद मिलाउन काठमाडौं आएको एएफसीको टोलीले बुधबार के–के गर्‍यो ? • Image Khabar Image Khabar


फुटबल विवाद मिलाउन काठमाडौं आएको एएफसीको टोलीले बुधबार के–के गर्‍यो ?


Imagekhabar
१० चैत्र २०७२, बुधबार १४:२६

फुटबल विवाद मिलाउन काठमाडौं आएको एएफसीको टोलीले बुधबार के–के गर्‍यो ?

काठमाडौं, चैत १० । नेपाली फुटबलको विवाद मिलाउन काठमाडौं आएको एसियाली फुटबल महासंघ (एएफसी)को टोलीले सरोकारवाला पक्षहरुसँग छलफल जारी राखेको छ ।

बुधबार एएफसी टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र एन्फाको असन्तुष्ट पक्षसँग छलफल गरेको छ ।

एन्फा पदाधिकारीसँग भएको छलफलकाक्रममा आफूहरु विधानअनुसार चलिरहेको बताएको प्रवक्ता इन्द्रमान तुलाधरले हामीलाई जानकारी दिए ।

एएफसी टोलीले असन्तुष्ट पक्षलाई समावेश नगरेको, साधारणसभा नगरेको, नरेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षमा मनोनीत गरेको र निलम्बित अध्यक्ष गणेश थापाबारे जानकारी लिएको थियो ।

असन्तुष्ट पक्षलाई नियमानुसार बर्खास्त गरी रिक्त ठाउँमा पदपूर्ति गरिसकेको भन्दै कानुनतः अगाडि बढ्ने जानकारी गराएको पनि प्रवक्ता तुलाधरले जानकारी दिए ।

उनले अदालतबाट मुद्दा फिर्ता लिए असन्तुष्ट पक्षलाई पनि समावेश गरी साधारणसभा गर्न तयार रहेको जनाए ।

यता, आन्दोलित एवं बर्खास्तीमा परेका भनिएका उपाध्यक्ष कर्माछिरिङ शेर्पालगायतको टोलीसँग पनि भेटेर एएफसी टोलीले जानकारी लिएको छ ।

कालीमाटीको एक होटलमा भएको भेटमा आफूहरुको ‘बटमलाइन’ एन्फामा पुनर्बहाली भएको भन्दै त्यसो हुन नसके एएफसीले निर्वाचन समिति बनाउने हो भने एन्फामा सहभागी हुने जनाएको शेर्पाले जानकारी दिए ।

उनले आफूहरुलाई गरेको कारबाहीको प्रमाण अहिलेसम्म पुनरावेदन अदालत पाटनमा दिन नसकेको भन्दै व्यक्तिगत् रिसइवीको आधारमा काबाही गरिएको जनाएको पनि बताए ।

एएफसी टोलीले बिहीबार राष्ट्रिय खेलकुद परिषद (राखेप)का प्रतिनिधिसँग पनि छलफल गर्दैछ ।

एएफसीका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक सञ्जीव बालासिंघम र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारी पुरुषोत्तम कट्टेलको टोली नेपाल आएको हो ।

प्रतिक्रिया दिनुहोस्