यौन विवादका कारण यसरी भयो शिक्षिका भेनिसाको हत्या, तीन युवा पक्राउ (भिडियोसहित) • Image Khabar Image Khabar


यौन विवादका कारण यसरी भयो शिक्षिका भेनिसाको हत्या, तीन युवा पक्राउ (भिडियोसहित)


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १०:४३

यौन विवादका कारण यसरी भयो शिक्षिका भेनिसाको हत्या, तीन युवा पक्राउ (भिडियोसहित)

काठमाडौं, चैत ११ । धनकुटा घर भइ काठमाडौंको चाबहिलमा बस्दै आएकी भेनिसा लिम्बूको हत्या अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ ।

प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका अभियुक्तहरुमा काठमाडौं, बौद्ध बस्ने २८ वर्षीय सनि लामा, २४ वर्षीय सजित लामा र मोरङ, पथरी घर भइ हाल काठमाडौं थली बस्ने १९ वर्षीय राजन राई रहेका छन् । घटनामा संलग्न अर्का एकजना भने फरार रहेको प्रहरीले जनाएको छ ।

गत फागुन ८ गतेदेखि हराएकी भेनिसाको शव फागुन १४ गते नगरकोटनजिकै मनपोखरी भन्ने स्थानमा फेलापरेको थियो ।

चाबहिल, सरस्वती नगरमा बस्दै आएकी २० वर्षीया भेनिसा लिम्बू र राजन राइको तीन महिनाअघि फेसबुकबाट चिनजान भएको र फागुन ८ गते राजनले फोन गरेर भेनिसालाई बौद्धगेटमा बोलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

बौद्धबाट राजन राई, सनि लामा र सजित लामाले भेनिसालाई लिएर ठमेल गएको र ठमेलको ‘हार्डरक’ रेस्टुराँमा बसेर बियर पिएर फेरि बौद्ध नै फर्किएको पाइएको पनि प्रहरीले जनाएको छ ।

बौद्ध पुगेपछि राजन र सजित गाडीबाट ओर्लेको र भेनिसा भने सनि लामा र फरार युवासँग लाजिम्पाटको अपार्टमेन्टतिर गएको खुलेको पनि प्रहरीले जनाएको छ ।

उक्त अपार्टमेन्टमा पुगेपछि सनि लामा र भेनिसाबीच सहमतिमा यौनसम्पर्क भएको र फरार व्यक्तिले पनि यौनसम्पर्क राख्नखोज्दा विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद भइ धकेलाधकेल हुँदै बाथरुममा पुगेको र फरार युवकले भेनिसालाई बाथरुमको झ्यालबाट खसालेको पाइएको पनि प्रहरीले जनाएको छ ।

मृतक लिम्बू चाबहिलकै हेरिटेज एकेडेमीकी शिक्षिकासमेत हुन् ।

यसैगरी, प्रहरीले अवैध बाघको छालासहित उदयपुर पञ्चावती घर भइ ललितपुर हरिसिद्धि बस्ने ध्रुव राईलाई पक्राउ गरेको छ ।

त्यसैगरी, गाँजा बिक्री गरेको अभियोगमा उदयपुर घर भइ सिनामंगल बस्ने सरोज कार्कीलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्