फुटबल हस्ती योहान क्राइफको निधन, को हुन् क्राइफ ? • Image Khabar Image Khabar


फुटबल हस्ती योहान क्राइफको निधन, को हुन् क्राइफ ?


Imagekhabar
११ चैत्र २०७२, बिहीबार १४:१७

फुटबल हस्ती योहान क्राइफको निधन, को हुन् क्राइफ ?

काठमाडौं, चैत ११ । नेदरल्यान्ड्सका फुटबल हस्ती योहान क्राइफको ६८ वर्षको उमेरमा निधन भएको छ ।

विगत् केही सयमदेखि फोक्सोको क्यान्सरबाट ग्रस्त क्राइफको विहीबार निधन भएको उनको आधिकारीक वेबसाइटले जनाएको छ ।

गत फेब्रुअरीमामात्रै क्राइफले ‘फोक्सो क्यान्सरविरुद्धको खेलमा आफू २–० ले अघिरहेको र क्यान्सरविरुद्धको यो भिडन्त छिट्टै आफूले जित्ने’ भन्दै स्वास्थ्य सुधारको संकेत गरेका थिए ।

तर, त्यसयता सार्वजनिक समारोहमा नदेखिएका क्राइफको निधन भएको खबर आएपछि विश्व फुटबलजगत् शोकमा डुबेको छ ।

सन् १९७४ को विश्वकप फुटबलमा नेदरल्यान्ड्सलाई फाइनलमा पुर्‍याउँदा क्राइफको भूमिका महत्वपूर्ण थियो । फाइनलमा भने नेदरल्यान्ड्सलाई तत्कालीन पश्चिम जर्मनीले हराएको थियो ।

तीनपटक फिफा वर्ष खेलाडी अर्थात् ‘बलुन डे ओर’को उपाधि जितेका क्राइफले स्पेनिस क्लब बार्सिलोना र नेदरल्यान्ड्सकै आयाक्स एम्सटरडमबाट व्यावसायिक फुटबल खेलेका थिए ।

उनकै प्रशिक्षणमा बार्सिलोना सन् १९९२ मा पहिलोपटक युरोपियन कप च्याम्पियन बनेको थियो ।

सन् १९९१ मा मुटुको डबल बाइपास सर्जरी गरेका क्राइफ विश्व फुटबलमा महान हस्तीहरुमध्ये एक मानिन्छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्