७ चैत्र २०८१, बिहिबार | Thu Mar 20 2025


इजिप्ट एअर अपहरणकान्डको पटाक्षेप, अपहरणकारीबाट आत्मसमर्पण


0
Shares

काठमाडौं, चैत १६ । इजिप्ट एअरको आन्तरिक उडानको विमान अपहरणकान्डको पटाक्षेप भएको छ ।

अपहरणकारीले साइप्रस प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै अपहरणकान्डको पटाक्षेप भएको हो ।

मंगलबार इजिप्टको अलेक्जेन्ड्रियाबाट ५६ यात्रुसहित राजधानी कायरोका लागि उडेको इजिप्ट एअरको फ्लाइट ‘एमएस १८१’ को एअरबस ३२० उडेको केहीबेरमै कम्मरमा ‘सुसाइड’ बम बाँधेको बताउने व्यक्तिले कब्जामा लिएका थिए ।

विमान दक्षिणी साइप्रसको लार्ना विमानस्थलमा अवतरण गराइएको थियो । अवतरण गराइएको केहीबरेमै विमानमा रहेका अधिकांश यात्रुहरुलाई अपहरणकारीले छाडेका थिए भने चार यात्रु र चालकदलका सदस्यहरुलाई बन्धक बनाइ अपहरणकारीले ‘बार्गेनिङ’ गरिरहेका थिए ।

तर, अन्ततः सबै यात्रु सकुशल रिहा भए भने अपहरणकारी पनि प्रहरीको नियन्त्रणमा पुगे ।

इजिप्टसियन नागरिक बताइएको अपहरणकारीले साइप्रसमा रहेकी आफ्नी पूर्वपत्नीलाई भेट्न विमान अपहरण गरेको बताएको जनाइएको छ ।

विमानस्थलको नजिकै गाउँमा रहेकी अपहरणकारीकी पूर्वपत्नीलाई विमानस्थल पुर्‍याउने प्रयास भइरहेको बेला अपहरणकारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।

साइप्रसका राष्ट्रपति निकोस अनास्तासिआडेसले पनि विमान अपहरण आतंककारी घटना नभएको बताएका थिए । (एजेन्सी)