राजाको संरक्षकत्व आवश्यक • Image Khabar Image Khabar


राजाको संरक्षकत्व आवश्यक


Imagekhabar
१७ चैत्र २०७२, बुधबार ०५:४६

राजाको संरक्षकत्व आवश्यक

-केशर बहादुर बिष्ट
२०४६ सालको जनआन्दोलनपछि देशमा नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीका अतिरिक्त एउटा वैकल्पिक प्रजातान्त्रिक पार्टीको आवश्यकतालाई महसुस गरेर तत्कालीन निर्दलीय राज्य व्यवस्था अन्तर्गत रहेर काम गरेका राजनीतिक शक्तिहरुको एउटै राजनीतिक दल निर्माण गर्ने र संवैधानिक राजसंस्था, बहुदलीय प्रजातन्त्रको सर्वमान्य मूल आदर्शलाई आत्मसात गर्दै एक सवल र देशको लागि वैकल्पिक प्रजातान्त्रिक पार्टी स्थापना गर्ने मूल उद्देश्यका साथ २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना भएको हो ।

२०४८ सालमा खडा भएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज २४ वर्ष पुरा गर्न लाग्दाको अवस्थामा पार्टी आफैं विभिन्न स्वार्थ गुटको शिकार भएर विभिन्न शाखा, उपशाखा, प्रशाखा जस्तै अनेकन नाममा विभाजित भई समान सिद्धान्तका राजनीतिक शक्ति विभिन्न दलको नाममा निरीहजस्तै अवस्थामा पुगेका छन् ।

२०६२/२०६३ सालको जनआन्दोलन पश्चात् देशमा नयाँ राजनीतिक परिस्थितिको प्रादुर्भाव भएको छ । गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको सवालमा मुलुकको राजनीति नराम्ररी विभाजित भएको छ । २०६२ साल मंसिर ७ गते भारतको राजधानी नयाँ दिल्लीमा भएको १२ बुँदे समझदारी, २०५२ सालदेखिको माओवादी जनयुद्ध लगायतका विगतले मुलुकको राजनीतिक स्थिरता, समृद्धि, राष्ट्रिय अखण्डता जस्ता विषयहरु संवेदनशील रुपमा उठेका छन् ।

२०७२ असोज ३ गते हालको नेपालको संविधान जारी भएपछि अझ जातीय, क्षेत्रीय, धार्मिक लगायतका क्षेत्रमा देशको जनमानस दुर्दान्त तवरले विभाजित छ । समग्र देशको नेपाली राष्ट्रियता पहाडे राष्ट्रियता, मधेशी राष्ट्रियता, धार्मिक राष्ट्रियता, अधार्मिक राष्ट्रियता, धर्म सापक्ष/निरपेक्ष राष्ट्रियता, धर्म निरपेक्षताका नाममा हिन्दुत्वको, बौद्धत्वको राष्ट्रियता, ईसाई धर्म राष्ट्रियता ईत्यादि । आज देश धर्म परिवर्तनको दुर्दान्त पिडामा फसेको छ । तर यसलाई सम्बोधन गर्नसक्ने मौलिक राष्ट्रिय राजनीतिक पार्टीको देशमा अभाव छ ।

नयाँ संविधानको निर्माण नेपाली जनताको इच्छा बमोजिम बनेको भनिए पनि ९४ प्रतिशत ओमकार परिवारको नेपाल सर्व धर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रता सहितको कसैले कसैको धर्म कुनै पनि बहानामा परिवर्तन गर्न नपाउने प्रत्याभूति सहितको संविधान निर्माणमा दिईएको सूझावलाई उल्लंघन गर्दै बनेको यो संविधानमा जनताको अपनत्व छैन । जनताको अपनत्व नभएको मात्रै होइन कि यो संविधानको आदर्शभन्दा पृथक राजनीतिक आदर्श राख्ने राप्रपा नेपालका केही नेता कार्यकर्ताले यसलाई उत्कृष्ट संविधानको नामाकरण गरेर राप्रपा नेपालको सिद्धान्त निकृष्ट हो भन्ने सन्देश जारी गरिराखेका छन् । राप्रपा नेपालको सिद्धान्त हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणाली सहितको राज्य व्यवस्थाको मान्यतालाई आत्मसात गर्दै ६,३०,००० नेपाली जनताले निर्वाचनबाट व्यक्त गरेको मतको अपमानस्वरुप यो संविधानलाई उत्कृष्ट भनिएको छ, यो घोर आपत्तिजन्य र कृत्रिम कुरा हो । राप्रपा नेपालको आदर्श र हामीले पाएको जनादेशको सम्मान गर्न हामीले यो संविधानको कुनै नाम र बहानामा समर्थन गर्ने, सपथ लिने र लागू गर्ने कार्य हुनु हुँदैन, जो भईरहेको छ । सार्वभौम सत्ता जनतामा नीहित सिद्धान्तको मान्यतालाई राप्रपा नेपालले मौलिक कुरा र सिद्धान्तलाई जनमत संग्रहमा लैजाने प्रयत्न पनि स्वीकार नभएको अवस्था छ ।

अतएवः बलियो पार्टी बनाउन संविधान प्रदत्त अधिकारहरुको प्रयोग गर्ने हो भने सबै राप्रपा एकिकृत हुनु बाहेक अर्को विकल्प हुन सक्दैन । साथसाथै तुरुन्त राप्रपा नेपालले असान्दर्भिक सरकारमा बसाई गरिरहनु उपयुक्त छैन ।

पार्टीलाई संस्थागत परिपाटीमा चलाउन व्यक्तिको असीमित आडम्बर र मनपरिबाट जोगाउनु, पार्टीका नेता, कार्यकर्तालाई दास–दलालको पहिचानबाट स्वाभिमानी, अनुशासित, भिन्न बिचारलाई कदर गर्ने, प्रजातान्त्रिक चरित्रको बनाई राष्ट्रिय वैकल्पिक प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गरी हाम्रा मान्यता धार्मिक स्वतन्त्रता सहितको हिन्दु अधिराज्य, राजाको संरक्षकत्वमा हक अधिकारको स्थानीय तहसम्मै अधिकारको प्रत्यायोजन भएको शासन प्रणाली मात्रै देशको स्वाभीमान सुहाउँदो, पुर्खाले दिएको अभिभाज्य, सवल सक्षम नेपालको व्यवस्था हुन सक्छ भन्ने मान्यता बोकेका र यस मान्यताको प्राप्तिका लागि संघर्ष गरिरहेका तमाम समान विचार भएका व्यक्ति, संघसंस्था, दलहरु एक भएर एकिकृत राप्रपा बनाउनु पर्ने आजको आवश्यकता हो । (विष्ट राप्रपा नेपालका सहअध्यक्ष हुन्)

प्रतिक्रिया दिनुहोस्