
काठमाडौं, चैत १७ । इजिप्ट एअरको विमान अपहरण गरेर जबर्जस्ती साइप्रसमा अवतरण गर्न बाध्य पार्ने इजिप्सियन नागरिक सेफ इल्दिन मुस्ताफालाई साइप्रसको लार्काना अदालतमा पेश गरिएको छ ।
नक्कली आत्मघाती पेटी लगाएर विमान अपहरण गरेका मुस्तफालाई अदालतले आठ दिन थुनामा राख्न आदेश दिएको छ ।
उनीविरुद्ध उड्डयन धोकाधडी, अपहरण र चेतावनीयुक्त व्यवहार प्रदर्शन गरेको आरोपमा मुद्दा चल्ने सम्भावना रहेको बताइएको छ ।
अदालतमा कुनै प्रतिक्रिया नजनाएका मुस्ताफाले प्रहरीले लैजाने बेला भने सन्चारकर्मीतर्फ ‘भी फ्ल्यास’ गर्दै विजयी भाव प्रकट गरेका थिए ।
पूर्वपत्नीलाई भेट्न विमान अपहरण गरेको भनिएका मुस्ताफालाई साइप्रसका अधिकारीहरुले मनोवैज्ञानिकरुपमा अस्थिर भएको बताएका छन् ।
अलेक्जेन्ड्रियाबाट कायरोतर्फ जाँदै गरेको ५६ जना सवार इजिप्ट एअरको एमएस १८१ विमानलाई मुस्ताफाले मंगलबार आफूसँग विस्फोटक पदार्थ रहेको बताउँदै जर्बजस्ती साइप्रसतर्फ मोड्न बाध्य पारेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्