राजनीतिकर्मीविरुद्धको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोली विजयी • Image Khabar Image Khabar


राजनीतिकर्मीविरुद्धको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोली विजयी


Imagekhabar
१७ चैत्र २०७२, बुधबार १२:१६

राजनीतिकर्मीविरुद्धको मैत्रीपूर्ण फुटबलमा पत्रकारको टोली विजयी

काठमाडौं, चैत १७ । नेपाल पत्रकार महासंघको ६१औं स्थापना दिवसका अवसरमा सन्चारकर्मी र राजनीतिक दलका नेताबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पत्रकार महासंघले राजनीतिकर्मीलाई ३–२ ले पराजित गरेको छ ।

खेलमा पत्रकार टोलीका लागि सुन्दर खनालले ह्याट्रिक गरे भने राजनीतिकर्मीका लागि जीवन केसीले २ गोल गरेका थिए ।

महासंघको ६१औं स्थापना दिवसको अवसरमा बुधबार दशरथ रंगशालामा खेलिएको मैत्रीपूर्ण खेलमा महासंघका तर्फबाट अध्यक्ष महेन्द्र बिष्ट र राजनीतिक दलका तर्फबाट सन्चारमन्त्री शेरधन राईले नेतृत्व गरेका थिए ।

दलका तर्फबाट कप्तानी गरेका सन्चारमन्त्री शेरधन राईले सन्चारजगत् र राजनीतिक दल एकार्काका पूरक भएकाले यस प्रकारको खेलले देशमा नयाँ सन्देश दिने धारणा राखे ।

महासंघका अध्यक्ष विष्टले सन्चारजगत् र दलहरुबीच सौहाद्रपूर्ण सम्बन्ध विस्तारका लागि खेल आयोजना गरिएको बताए ।

निकै नै रोमान्चक रहेको मैत्रीपूर्ण खेलका लागि सन्चारकर्मी र राजनीतिकर्मीहरु उत्साहपूर्वक मैदानमा उत्रेका थिए ।

खेलमा राजनीतिक दलका तर्फबाट गृहमन्त्री शक्ति बस्नेत, गगन थापा, रामहरि खतिवडा, रामकुमारी झाँक्री, नवीना लामा, प्रदीप पौडेल, जीवनराम श्रेष्ठलगायतका नेताले सहभागिता जनाएका थिए भने नेपाल पत्रकार महासंघका तर्फबाट केन्द्रीय तथा क्षेत्रीय सदस्यहरुको सहभागिता थियो ।

खेल हेर्न विभिन्न दलका नेता–कार्यकर्तालगायत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्