
काठमाडौं, चैत १९ । नेपाल धितोपत्र बोर्डले शेयरमा लगानी गर्ने रकम बैंक खातामै ब्लक हुने प्रणाली लागू गर्ने भएको छ ।
बोर्डले सार्वजनिक सेयर निष्काशनमा ‘एएसबीए’ प्रणाली लागू गर्ने भएको छ । यसअन्तर्गत् लगानीकर्ताले आफ्नो खाता रहेको र धितोपत्र बोर्डले यो प्रणाली उपलब्ध गराउन मान्यता दिएको बैंकमा शेयरमा लगानी गर्न चाहेको रकम ‘होल्ड’ गर्न निवेदन दिनुपर्नेछ र बैंकले लगानी गरेको रकम होल्ड गरी त्यसको प्रमाण उपलब्ध गराउनेछ ।
लगानीकर्ताले उक्त प्रमाणसहित शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । सार्वजनिक निश्कासनमा अहिले धेरै समय लाग्ने र लगानीकर्ताले झन्झट ब्यहोर्नुपरेको भन्दै बोर्डले यो प्रणाली लागू गर्न लागको हो ।
बोर्डले आउँदो साउन १ गतेबाट यो प्रणाली लागू गर्ने तयारीस्वरुप यस प्रणालीकाबारेमा अध्ययन गर्न समिति बनाएको छ । अहिले सार्वजनिक निश्कासनमा शेयर बाँडफाँटका लागि ७० दिनसम्म लाग्ने गरेको छ ।
यो प्रणाली लागू भएपछि बढीमा १५ दिनभित्र बाँडफाँड गर्न सकिने बताइएको छ ।
यसले निश्कासित धितोपत्रको सूचीकरण छिटो हुने र पूँजी बजारमा अत्यन्त सकारात्मक प्रभाव पर्ने बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्