५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


कांग्रेस संसदीय दलको निर्वाचन : हार्न तयार पौडेल


0
Shares

१३ औं महाधिवेशनको थकान मेट्न नपाउँदै कांग्रेस नेतृत्व संसदीय दलको नेता चयनमा ब्यस्त बनेको छ । चैत २४ गते सम्पन्न हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल प्रत्यासीका रुपमा मैदानमा देखिएका छन् ।

सामान्यतया संसदीय दलको नेताले सरकारको नेतृत्व गर्ने प्रावधान रहेकाले पनि संसदीय दलको नेतामा आशक्ति जाग्नु स्वाभाविक मानिएको छ । भारी मतले देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि पौडेलले संसदीय दलको नेता निगाहमा माग्न खोजे । सभापति देउवाले दधिचीले जस्तो अंग काटेर दिने समय यो पक्कै पनि थिएन । तै पनि सभापतिले पौडेललाई सम्मानजनक केन्द्रीय सदस्यमा मनोनित गर्दै वरियताको क्रममा दोस्रो स्थानमा आसिन गराउनुलाई देउवाको उदारता मानिएको छ ।

सामान्यजनमा रामचन्द्र पौडेल हार्नका लागि राजनीति गर्छन् भन्ने छ । उनका विरोधीलाई पनि यही कुरा भजाउन सजिलो भएको छ । यस्तो विश्लेषण कमजोर हुन जान्छ । प्रधामन्त्रीका लागि १७ पटक उम्मेदवारी दिनु पौडेलको रहर थिएन, पार्टीको बाध्यता थियो । संविधानसभाको निर्वाचन होस् या संसदीय निर्वाचन उनले जितेकै हुन् । पार्टी सभापतिमा हार्ने निश्चित हुँदाहुँदै पनि उम्मेदवारी दिनु उनको आफ्नै बाध्यता थियो । राजनीतिमा हार्दा पनि नेता बन्न सक्ने अवस्था रहन्छ । उनको यो बाध्यकारी अवस्था थियो ।

जसरी पार्टी सभापतिको आकर्षण पार्टीभित्र रहन्छ, त्यति नै आकर्षण संसदीय दलको नेतामा पनि छ । पार्टी सभापतिले संसदीय दलको नेता छोड्नै हुन्न भन्ने त छैन । कांग्रेससँग सभापतिले संसदीय नेता त्यागेको विगत एउटैमात्र छ । ०५१ को मध्यावधी निर्वाचनमा पार्टी सभापति कृष्णप्रसाद भट्टराई चुनाव नलडेपछि उनले संसदीय दलको नेतृत्व पनि खोजेनन् । यता पार्टी निर्वाचनबाट दोस्रो स्थानमा झरेको कारण देखाउँदै गिरिजाप्रसाद कोइरालाले पनि संसदीय दलको नेता बन्न चाहेनन् । यसपछि सर्वसम्मत निर्विरोध चयन भएका थिए शेरबहादुर देउवा । यसलाई त्यागको दृष्टान्तका रुपमा अर्थ्याउनु पनि गलत हुन्छ । यो एउटा कागतालीमात्र थियो देउवाका लागि ।

अहिले सभापति देउवाको भाग्यले डोकोमा दूध दुहुँदा पनि अड्याईदिएको छ । यता पौडेलको भाग्य विगत केही वर्ष यता च्यातिदै गएको अवस्था पनि हो । पौडेलको च्यातिएको भाग्यलाई सिलाउने प्रयास र प्रयत्नमा रहेको डा. शेखर कोइरालाहरु काविल देखिएनन् । हुन त समाप्त प्रायः बन्दै गएका पौडेललाई काँधमा बोकिरहेका शेखरले आफ्नो काँध र विश्वास नथाकेको सार्वजनिक गरेका छन् । ‘कुखुरे चित्तका पौडेल गुनिला छैनन्,’ उनका निकटस्थहरुको विश्लेषण हो यो । जब निकटकाहरु नै यस्तो विमर्शमा जुट्छन् भने पौडेलको राजनीति बलियो छ भन्नु अर्को भ्रम हुन जान्छ ।

उता देउवाको राजनीतिक बजारमा हाट लागेको जस्तो छ । आउने–जाने र रमाउनेको लीला देखिन्छ । पौडेलको चित्त साह्रै सानो भएको टिप्पणी घनिभूत भइरहेका बेला देउवाले आफ्नो चित्तलाई खेलमैदानमा परिणत गर्दै गरेको सार्वजनिक हुनुले पनि देउवा कांग्रेसभित्र महाशक्तिशाली बन्न खोज्दै छन् भन्ने हो ।

यही बीचमा देउवा घेरिए । उनीसँग लेनदेनको सहकार्य गर्नेहरु धेरै भए भन्ने टिप्पणी पनि सतहमा आएका छन् । सामान्यतया मान्छे एक्लै सिंगो मान्छे बन्न सक्दैन । अझ राजनीतिमा सफल बन्नका लागि आफु एक्लै काविल छु भन्नु मूर्खता हुन्छ । देउवाको यो उचाई उनकै खुट्टाबाट मात्र अग्लिएको होइन । हरेक परिस्थितिमा साथ दिएका विमलेन्द्र निधी र ज्ञानेन्द्रबहादुर कार्की जस्ता शालिन र गम्भिर नेता पनि देउवासँगै हुँदासम्म उनी बिग्रन सक्ने अवस्था धेरै कम हुने छ ।

कांग्रेसमा धेरै कम नेता कार्यकर्तालाई छोडेर कुरा गर्ने हो भने लेनदेनका लागि राजनीति भइरहेको छ । सांसद भनौं या नेता, कार्यकर्ता देउवाको डुङ्गाबाट तर्दा पार लागिन्छ या पौडेलको डुङ्गाबाट तर्न सकिन्छ भन्नेमा द्विविधामा देखिन्छन् । बिहान देउवा निवास पुगेर म तपाईलाई मत दिन्छु भन्ने र दिउँसो पौडेललाई भेटेर म तपाईलाई जिताउन लागिपरेको छु भन्ने सांसदहरुको भीड कांग्रेसमा छ ।

धेरैलाई लाग्न सक्छ, देउवाले रामचन्द्रलाई संसदीय दलको नेता पद छोड्नु पर्छ । तर यही सोच्नेहरुले यो पनि विचार गर्नु पर्छ कि, रामचन्द्रले सभापति जितेका भए देउवालाई संसदीय दलको नेता छोडिदिन्थे ? राजनीतिमा त्याग लाभका लागि मात्र हुन्छ । चौतर्फी अबको प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका देउवाले रामचन्द्रलाई संसदीय दलको नेता बनाएर आफ्नै खुट्टामा बन्चरो हान्ने गलत काम गर्नुपर्छ भन्नु नै मूर्खता हो ।

अंकगणितीय हिसाबले पनि रामचन्द्रको हार निश्चित छ । अघिल्लो संसदीय निर्वाचनमा सुशील कोइरालासँग १६ मतले पराजित देउवाले यसपटक सम्मानजनक जित हात पार्ने अनेकन कारणहरु छन् । हिजो सुशीलसँग रहेका कैयौं नेताहरु यतिबेला देउवासँग छन् । कांग्रेसका नेता, कार्यकर्तामा देउवा आकर्षक नेताका रुपमा देखिएका छन् । सबैको चित्त बुझाउन सक्ने क्षमता उनीसँग छ । देउवाका किचेन क्याविनेटका रुपमा परिचित विमलेन्द्र, ज्ञानेन्द्र र गोपालमानहरु हल्लाभन्दा काम बढी गर्छन् । उनीहरु देउवाप्रति सोचेभन्दा बढी इमान्दार पनि छन् । यी सबै कुराको चर्को अभाव पौडेलमा देखिन्छ ।