३१ हजार मेट्रिकटन ग्यास आउँदा पनि अभाव कायमै • Image Khabar Image Khabar


३१ हजार मेट्रिकटन ग्यास आउँदा पनि अभाव कायमै


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १४:००

३१ हजार मेट्रिकटन ग्यास आउँदा पनि अभाव कायमै

काठमाडौं, चैत २३ । खाना पकाउने एलपी ग्यास सिलिन्डरको आपूर्ति बढेपनि सर्वसाधारण उपभोक्ताले अझैपनि सहजरुपमा ग्यास पाएका छैनन् ।

नेपाल आयल निगमकाअनुसार मार्च महिनामामात्रै ३१ हजार १ सय ३५ मेट्रिकटन ग्यास भित्रिएको थियो ।

निगम प्रवक्ता मुकुन्द घिमिरेकाअनुसार यति परिमाणको ग्यास आउँदा बजारमा अभाव हुनु नहुनुपर्ने हो । तर, बजारमा ग्यासको चरम अभाव कायमै छ ।

उपभोक्ताकर्मीले ग्यास उद्योगीले नयाँ सिलिन्डर बेच्नका लागि पुराना सिडिन्डर उपभोक्ताबाट फिर्ता नलिँदा ग्यास अभाव थप बढेको बताएका छन् ।

राष्ट्रिय उपभोक्ता मन्चले घर–घरमा ‘होल्ड’ भइ रहेका खाली सिलिन्डर फिर्ता ग्यास उद्योगीले फिर्ता नलिनु र उद्योगीहरुले अवैधरुपमा सिलिन्डर थप गरी कालोबजारी गरेकाले कारण ग्यास अभाव भएको भन्दै आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

बजारमा ग्यास अभाव भइरहेकै बेला ग्यास उद्योगीले पाँच लाख नयाँ सिलिन्डरका लागि गुणस्तर तथा नापतौल विभागसँग स्वीकृति माग गरेका छन् ।

निगम प्रवक्ता घिमिरेले पाँच लाख नयाँ सिलिन्डर स्वीकृतिका लागि ग्यास उद्योगीले विभागमा आग्रह गरेको अनौपचारिकरुपमा जानकारी पाएको बताए ।

निगमले अप्रिल महिनाको लागि भारतीय आयल निगमलाई ४० हजार मेट्रिकटन ग्यास माग गरेको जनाएको छ ।

निगम प्रवक्ता घिमिरेले बजारमा ग्यास अभाव कायमै भएपछि अनुगमनलाई कडाइ गर्ने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्