पनामा पेपर्सकान्डः नेपालको अर्थतन्त्र–सामाजिक क्षेत्रमा बढी असर : अर्थविद् • Image Khabar Image Khabar


पनामा पेपर्सकान्डः नेपालको अर्थतन्त्र–सामाजिक क्षेत्रमा बढी असर : अर्थविद्


Imagekhabar
२३ चैत्र २०७२, मंगलवार १४:०३

पनामा पेपर्सकान्डः नेपालको अर्थतन्त्र–सामाजिक क्षेत्रमा बढी असर : अर्थविद्

काठमाडौं, चैत २३ । ‘पनामा पेपर्स लिक’कान्डमा नेपालका पनि लगानीकर्ता मुछिएपछि त्यसले नेपालको अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने बहस सुरु भएको छ ।

करछली गर्न र अवैध सम्पत्ति लुकाउन ‘ट्याक्स हेभन’अर्थात् करमुक्त क्षेत्रमा लगानी गरी कालोधनलाई सेतो बनाउने गरेको खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जालले गरेको खुलासामा नेपाली लगानीकर्तासमेत परेका छन् ।

करछलीकान्डमा नेपालीसमेत मुछिएपछि त्यसले नेपालको अर्थतन्त्रसहित सामाजिक क्षेत्रमा असरपार्ने अर्थविद्हरुले बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा वरिष्ठ अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुर्‍यालले नेपाली लगानीकर्तासमेत मुछिएको घटनाले मुलुकको विश्वसनीयता घट्ने बताए ।

मुलुकको अर्थतन्त्रसहित सामाजिक क्षेत्र प्रभावित हुनसक्ने उनले उल्लेख गरे ।

यो घटनाले विकासका लागि सहुलियतपूर्ण ब्याजमा ऋण दिने समुदायले विश्वास नगर्न सक्ने र पूँजी पलायनसमेत हुनसक्ने उनको भनाइ छ ।

अर्थविद् डा. डिल्लीराज खनालले समानान्तर अर्थतन्त्र, कर छल्ने प्रवृत्ति जस्ता गतिविधिले नेपालको अर्थतन्त्रमा असर पारेको बताए ।

उनले पनामा पेपर्सकान्डले नेपालसहित विश्व समुदायलाई बलियो कानुन बनाउन दबाब दिएको बताए ।

नेपाल सरकारका पूर्व मुख्यसचिव डा. विमल कोइरालाले नेपालमा आएको लगानी कुन क्षेत्रमा गएको छ भन्ने विषयलाई सरकारले निगरानी गर्नुपर्ने बताए ।

गैरकानुनी एवं आतकंकारी क्षेत्रमा पनि लगानी गएको हुनसक्ने भएकाले सरकारले तत्काल लगानीको ‘ट्रयाकिङ’ गर्नुपर्नेमा उनको जोड छ ।

यस्तै, युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले करछली एवं भ्रष्टाचारविरुद्ध अभियान सन्चालन गरिनुपर्नेमा जोड दिए ।

पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जालले राष्ट्र प्रमुख एवं चर्चित व्यक्तिसँग सम्बन्धित १ सय ४० जनाले ट्याक्स हेभनमा कम्पनी खोली ‘कालोधन’ लगानी गरेको खुलासा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्