३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


भारतको बिहारमा कोही साबुन खान थाले, कोही बेहोस हुन थाले


0
Shares

पटना, चैत २४ । नेपालसँग सीमा जोडिएको भारतको बिहार राज्यमा अचानक केही मानिसमा अनौठो गतिविधि देखा पर्न थालेको छ ।

अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार बिहारमा कयौं बेहोस हुन थालेका छन् भने कोही साबुन खान थालेका छन् । बिहारका विभिन्न क्षेत्रमा मानसिक रोगीको संख्या दुई दिनमा अचानक बढेको अधिकारीहरुको भनाई छ ।

उनीहरु कुनै भुत–प्रेत वा व्यक्तिगत कारणले मानसिक बिरामी भएका भने होइनन् । राज्य सरकारले लागू गरेको नयाँ नियम पालना गर्नुपर्ने बाध्यताका कारण उनीहरु मानसिक रोगी भएका हुन् ।

बिहारमा राज्य सरकारले मदिरा निषेध गरेपछि मानिसमा यस्तो समस्या देखिएको हो । मंगलबारबाट राज्य सरकारले राज्यका सबै क्षेत्रमा मदिरा निषेध योजना लागू गरेको छ । मंगलबाट मदिरा निषेध गरिए पनि भण्डारण सकिएका बिक्रेताहरुले त्यसको केही दिन अघिदेखि नै मदिराको व्यापार छाडेका कारण कयौं क्षेत्रमा आइतबारदेखि नै मदिराको अभाव भएको थियो ।

वर्षौंदेखि मदिराको लतमा लागेकाहरु राज्य सरकारको नयाँ नियमअनुसार मदिरामा प्रतिबन्ध लागेपछि तड्पिएका हुन् । मदिरा नपाएका कारण कयौं बिरामी हुन थालेको अस्पतालस्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

बेतियामा एक पुरुषले मदिरा नपाएका कारण विक्षिप्त भई साबुन खाएको घटना प्रकाशमा आएको छ । ४५ वर्षीय गैसुद्दीन २० वर्षदेखि दैनिक मदिरा सेवन गर्दै आएका थिए । केही दिनदेखि मदिरा उपलब्ध नभएका कारण मानसिक रोगीको जस्तै व्यवहार देखाउन थालेका उनले साबुन खान थालेपछि परिवारका सदस्यहरुले एमजेके अस्पतालमा भर्ना गरेका छन् ।

त्यसैगरी मोतिहारी, चैनपुर निवासी ५० वर्षीय रघुनन्दन बेसरा मदिराको अभावमा बेहोस नै भएका छन् । मदिराको लतमा डुबेका उनी मदिरा सेवन गर्न नपाउँदा बेहोस भएपछि परिवारका सदस्यले उनलाई अस्पतालमा भर्ना गरेका छन् ।

सीवानस्थित नशा मुक्ति केन्द्रमा विगत पाँच दिनमा यस्ता ५४ मानसिक रोगीलाई भर्ना गरिएको जनाइएको छ । उनीहरु सबै मदिरामाथिको प्रतिबन्धका कारण मानसिक रोगको शिकार भएको बताइएको छ । तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)