
वासिङ्टन, चैत ३० । जिका भाइरसको संक्रमण सोचिएभन्दा निकै डरलाग्दो भएको अमेरिकी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले जिकाको संक्रमण शुरुमा अनुमान गरिएकोभन्दा निकै भयावक रुपमा आएको बताएका हुन् ।
पछिल्लो पटक जन्मिएका शिशुमा जिका भाइरसका कारण हुने जन्मजात समस्याको दर बढेको अमेरिकाको रोग नियन्त्रण तथा सावधानी केन्द्रकी चिकित्सक डाक्टर एन्नी सचाटले बताइन् । जिका भाइरसको संक्रमण फैलाउन एडिस एजिप्टाइन जातको लामखुट्टे पनि पहिले अनुमान गरिएभन्दा धेरै राज्यमा फैलिएको उनले बताइन् ।
झन्डै एक वर्षअघि ब्राजिलबाट शुरु भएको जिका भाइरसको संक्रमण दक्षिण अमेरिका तथा क्यारेवियनसहित, अमेरिका, बेलायत, दक्षिण कोरिया र चीनसम्म फैलिएको छ । दक्षिण अमेरिकामा जिका भाइरसका कारण हजारौं बालबालिकामा जन्मजात विभिन्न समस्या देखिएको छ ।
यसका कारण विशेष गरी बालबालिकाको मष्तिस्कमा असर पर्ने गर्दछ । यसले गर्दा टाउकाको माथिल्लो भाग सानो भएको बच्चा जन्मने गरेको छ । अहिलेसम्म जिकाका बारेमा भए/गरेका काम तथा जानेका कुरा पर्याप्त नभएको डाक्टर सचाटको भनाइ छ ।
जिका भाइरसविरुद्ध लड्नका लागि अहिले छुट्याइएभन्दा धेरै पैसा, समय र अनुसन्धान खाँचो रहेकोमा चिकित्सकहरुले जोड दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले जिकाविरुद्ध लड्नका लागि आपतकालीन कोषमा १ अर्ब ८० करोड डलर राख्न कांग्रेससँग आग्रह गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्