
डिल्लीराज पन्त –
कञ्चनपुर, चैत ३० । कञ्चनपुरको महाकाली नदी पारी रहेकोे दोधारा–चाँदनी नगरपालिका–१० स्थित जोगबुढा नदीमा पुल नहुँदा बर्षौंदेखि त्यस क्षेत्रका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
सदरमुकाम महेन्द्रनगरसम्म आउन, घाँस दाउरा गर्न र दैनिक उपभोग्य सामानहरुको खरिदका साथै बिद्यालय आवत जावत गर्न समेत जोखिमपूर्ण डुंगाको यात्रा गर्नु परेको छ । हिउँदमा थोरै पानी हुने गरेपनि बर्षातको समयमा जोगबुढा नदीमा पानीको बहाव उच्च हुने गर्दछ । जसले गर्दा डुंगामा यात्रा गर्दा डुंगा पल्टिने सम्भावना बढि हुन्छ ।
बाह्रै महिना डुंगाबाट यात्रा गर्ने सो क्षेत्रका बासिन्दासँग बर्षामा भारतीय बजारबाट दैनिक उपभोग्य सामान खरिद गर्नुपर्ने बाध्यता छ भने विद्यालय जाने कतिपय विद्यार्थीहरु नदीमा आउने बाढीका कारण विद्यालय छोडि घरमै बस्न बाध्य हुन्छन् ।
नदीमा डुंगाको यात्रा गर्नेमा अधिकांश स्कुले बालबालिका नै बढी हुने गर्दछन् भने नदी पारीबाट घास, दाउरालगायत खेतबारीको अन्न ल्याउने भएकाले डुंगा पल्टिने डर पनि उस्तै हुन्छ ।
बर्षामा नदीमा पानीको बहाव बढ्ने भएकाले सो क्षेत्रका मानिसहरुलाई नदी वारपार गराउन साह्रै समस्या हुने गरेको डुङ्गा चलाउने माझी बताउँछन् ।
नदीमा पुल नहुँदा वर्षेनी त्यस क्षेत्रका स्थानीय बासिन्दाले जोखिमपूर्ण यात्रा मात्र होइन, ज्यान समेत गुमाउनु परेको छ । यसअघि आएको बाढीमा डुंगा पल्टदा ६ जनाले ज्यान गुमाइसकेका कारण सरकारले नदीमा पुल निर्माणतर्फ जोड दिनुपर्ने स्थानीयको माग छ ।
स्थानीयलाई दैनिक उपभोग्य सामान, सरकारी कामकाज, पढाइ लगायत अन्य कामका लागि सदरमुकाम आउने बाध्यता रहेको छ । उनिहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् तर पुल निर्माणको लागि सरकारले कुनै चासो देखाएको छैन ।
प्रतिक्रिया दिनुहोस्