
काठमाडौं, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले गफमा भन्दा काममा विश्वास गर्ने बताएका छन् ।
उनले सरकार गफ गर्न नबनेको भन्दै जनताको पक्षमा काम गर्न कुनै कसर बाँकी नराख्ने दाबी समेत गरे ।
आज राजधानीमा बागमती संग्रहालयको शिलान्यास गर्दै उनले वर्तमान सरकारलेजस्तो जनताको काम अन्य सरकारबाट सम्भव नहुने पनि बताए । जनताले देखेका रचनात्मक सपना सरकारले साकार पार्ने भएकाले बढीभन्दा बढी सपना देख्न र सरकारसामु ल्याउन पनि उनले आग्रह गरे ।
सबै किसिमका ढल बागमतीमा मिसाउँदा नदी नै प्रदुषित भएको भन्दै उनले बागमतीलाई राजनीतिक ढलबाट पनि मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताए ।
बागमतीसँंग इतिहास, आस्था, विश्वास र हिन्दु सभ्यता जोडिएको भन्दै उनले पवित्र बागमतीको रुपमा रुपान्तरण गर्ने काममा सरकारले सहयोग गर्ने बताए । एक बर्षभित्र मेलम्चीको पानी काठमाडौं भित्रने भन्दै उनले बागमती नदीमा पनि पानीको बहाव बढाउनुपर्ने बताए ।
नयाँ बर्ष नयाँ अभियानको बर्ष हुने भन्दै प्रधानमन्त्री ओलीले २०७२ सालका सबै घटनाबाट पाठ सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नयाँ बर्षमा बन्द, हड्ताल र नाकाबन्दीको योग नरहेको भन्दै उनले कसैले गर्न चाहेर पनि मुलुकको गति नरोकिने बताए
कार्यक्रमा बागमती सफाई अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्