
युवराज रोइला
अपडेटः
खोटाङ, चैत ३० । खोटाङको महादेवस्थान गाविस–१ काभ्रेटारमा मंगलबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ पुगेको छ । दुर्घटनामा अरु ३१ जना घाइते भएका छन् ।
मृतकहरुमध्ये खोटाङ दिक्तेल–१४ का सन्तोष कटुवाल, उदयपुर बासबोटे–३ का द्रबिन राई, खोटाङ च्यानिटार–६ का रबिन राई, उदयपुर ठाना गाउँ–३ का हेम सुनुवार, सोही स्थानका भाजुनारायण श्रेष्ठ, खोटाङ निर्मलीडाँडा–३ की विमला राई, उदयपुर ताम्लिखाकी शान्ता राई, खोटाङ याम्खा–७ का भैरव राई, खोटाङ च्यास्मिटार–८ का सुरेन्द्र राई, सोलुखुम्बुकी सुस्मा राई, पञ्चन–१ सोलुखुम्बुका सोम सुन्दास, खोटाङ ढिकुवाका मेजर राई, काठमाडौं घर भएका अर्जुन उप्रेती, खोटाङ खार्मी–५ का मित्रकुमार राई, उदयपुर–५ ताम्लिखाका ओमश्री राई र ठेगाना नखुलेका गोविन्द तिमल्सिनाकोमात्र सनाखत भएको छ ।
अझै सातजनाको सनाखत हुन सकेको छैन । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
घाइतेहरुमध्ये गम्भीर अवस्थामा रहेका २३ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ ।
घाइतेहरुको काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, बिएन्डबी र सैनिक छाउनी अस्पतालमा उपचार भइरहेको छ ।
सामान्य घाइते सातजनाको भने हलेसीमा उपचार भइरहेको दिक्तेलका ट्राफिक इन्चार्ज तेजकुमार बस्नेतले जानकारी दिए ।
खोटाङको दिक्तेलबाट काठमाडौं जाँदै गरेको बा२ख ६३७६ नम्बरको यात्रुबस मंगलबार बिहान ५ बजे काभ्रेटारमा सडकबाट करिब दुई सय मिटर तल खस्दा २४ जनाको मृत्यु भएको हो । बस सडकबाट तल खसेर रुखमा अड्िकएको प्रहरीले जनाएको छ ।
कच्ची सडक निर्माणकाक्रममा ठेकेदारले भित्तातर्फ ढुंगा थुप्रारेको र छेउतर्फको माटो नयाँ भएकोले बस भासिएर तल खसेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय खोटाङ र हलेसीबाट गएको प्रहरी र सेनाको टोलीले घटनास्थलमा घाइतेहरुको उद्धार गरेका थिए ।
घटनास्थल सदरमुकामबाट ४२ किलोमिटर पश्चिममा पर्दछ । बसमा ५६ जना यात्रु सवार रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्