३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


संविधान कार्यान्वयनमा जुट्न राष्ट्रपतिको आग्रह


0
Shares

काठमाडौं, वैशाख १ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ संविधान कार्यान्वयनमा जुट्न सबैलाई आग्रह गरेकी छन् ।

नयाँ वर्ष २०७३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संविधानको कुशल कार्यान्वयनले मात्र मुलुकलाई संघीय संरचनामा रुपान्तरण गर्ने उल्लेख गरेकी छन् ।

राष्ट्रपतिको शुभकामना सन्देशमा ‘राजनीतिक अभियानबाट हासिल ऐतिहासिक एवम् युगान्तकारी उपलब्धीसँगै नयाँ संविधानको कुशल कार्यान्वयनबाट मुलुकलाई संघीय संरचनामा रुपान्तरण गर्र्दै आर्थिक–सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने साझा जिम्मेवारी अब हाम्रो काँधमा आएको छ’ भनिएको छ ।

संविधानलाई २०७२ सालको सर्वोच्च उपलब्धी भन्दै राष्ट्रपतिले विगत वर्षका सकारात्मक उपलब्धी रक्षा गर्दै राजनीतिक दलले मुलुकलाई नयाँ सोच, शैली र गन्तव्यसहित सहमतिका साथ अघि बढाउने विश्वास व्यक्त गरेकी छन् ।

‘सहमतिसहित राजनीतिक स्थिरता, लोकतान्त्रिक संस्कारसहित नयाँ संविधान कार्यान्वयन, संघीय संरचनामा रुपान्तरणका काम शुरुआत, संवाद र सहमतिबाट आन्तरिक समस्या समाधान र आर्थिक समृद्धिको एजेन्डालाई प्राथमिकताका साथ अघि बढाउन सबै दत्तचित्त भई लाग्नुपरेको छ’ सन्देशमा भनिएको छ । उनले भूकम्पपछिको पुनर्निर्माण पनि चाँडै अघि बढ्ने विश्वास व्यक्त गरेकी छन् ।