१३ चैत्र २०८१, बुधबार | Wed Mar 26 2025


डोटी जिप दुर्घटनाः पद्मकन्या क्याम्पसका तीन प्राध्यापकको मृत्यु


0
Shares

धनगढी, वैशाख १ । मंगलबार राति डोटीमा भएको जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौंका तीन प्राध्यापकसहित ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी पद्मकन्या क्याम्पसका प्राध्यापक, साहित्यकार एवं डोटेली लोकसंस्कृतिका अनुसन्धानकर्ता ६२ वर्षीय डा. जयराज पन्त, उनकी धर्मपत्नी ५५ वर्षीया सहप्राध्यापक गुड्डी पन्त तथा भाइबुहारी ५२ वर्षीया सावित्रा पन्तको पनि मृत्यु भएको छ ।

गुड्डी र सावित्रा दुबै पद्मकन्या क्याम्पसमै प्राध्यापनरत् थिए ।

लामो समयदेखि प्राध्यापन गर्दै आएका डा. पन्त मध्यपश्चिम र सुदूरपश्चिम नेपालको र खास गरी डोटेली लोकसंस्कृतिको अनुसन्धानकर्ता रहेका थिए ।

पद्मकन्यामा प्राध्यापन गर्नुअघि उनले कैलाली बहुमुखी क्याम्पस धनगढीमा पनि केही समय अध्यापन गरेको उनका भाइ नन्दराजले बताए ।

संस्कृति सहित दुई विषयमा विद्यावारिधि गरेका प्रा.डा. पन्तका ‘अञ्जुलीभरि सगुन, पोल्टाभरि फाग, ‘भुवनेश्वरी‘ लगायतका कृति प्रकाशित छन् ।

यस्तै, सोही दुर्घटनामा परी डा. पन्तका काका पशुसेवा निर्देशनालयका पूर्वनिर्देशक र हाल बैतडीमा एक गैरसरकारी संस्थामा कार्यरत डा. गणेशराज र उनका भाइ कैलाली अत्तरिया नगरपालिकाका ५९ वर्षीय केशवराजकोसमेत मृत्यु भएको छ ।

आफ्नो जन्मथलो डोटीको जिजोडामाडौं गाविस—८ जैनोली गाउँमा यही वैशाख ३ गतेदेखि सप्ताहयज्ञको आयोजना गर्ने योजनानुसार बाङ्डुग्रीसैनबाट जिजोडामाडौंतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना१ज ३२९४ नम्बरको जिप मंगलबार राति ९ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक डोटी वनलेक गाविसका– ४५ वर्षीय चेतराज बलायर, जिजोडामाडौं गाविसकी ३६ वर्षीया हरिना टमाटा र ठेगाना खुल्न नसकेकी १७ वर्षीया जानकी ताम्राकारकोसमेत मृत्यु भएको छ ।

घटनास्थलमा ६ जनाको र डडेलधुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचारकाक्रममा दुईजनाको मृत्यु भएको हो । तिनको शव आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

उद्वारका लागि राति नै घटनास्थल पुगेका डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले ठाडो उकालो, कच्ची–साँघुरो बाटो र धेरै मोड रहनु नै जिप दुर्घटनाको कारण भएको राससलाई बताए ।

सडकबाट झन्डै पाँच सय मिटर तल भीरमा खसेर भएको दुर्घटनामा जिपमा सवार ४५ वर्षीया नर्वदा पन्त, ३८ वर्षीय गौरव पन्त, नौ वर्षीया लक्ष्मी नेपाली, ३८ वर्षीय धनबहादुर टमटा र कलावती टमटा, धौली टमटा र २२ वर्षीया अनिता टमटा घाइते भएका छन् ।

घाइतेमध्ये नर्वदा र गौरवलाई थप उपचारका लागि नेपालगन्जतर्फ लगिएको तथा अन्यको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । रासस