५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


वर्ष २०७२ मा निधन भएका चर्चित व्यक्तिहरु


0
Shares

काठमाडौं, वैशाख १ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भएको अशुभ खबर बोकेर सुरु भएको वर्ष २०७२ मा मुलुकको राजनीति, आर्थिक, सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका थुप्रै व्यक्तित्वको मृत्यु भयो ।

सबैभन्दा ठूलो झट्का थियो कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अप्रत्याशित निधन ।

वर्षको सुरुमै अर्थात् वैशाख २ मा भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचारकैक्रममा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधन भयो ।

८८ वर्षीय थापा पञ्चायत र प्रजातन्त्र पुनःस्थापनाकालसमेत गरी पाँचपटक प्रधानमन्त्री बनेका थिए ।

ठूला राजनीतिज्ञ गुमाउनेक्रममा माघ २५ गतेको मध्यरात नेपाली राजनीतिमा त्यस्तै अप्रत्याशित खबर लिएर आयो । जुन दिन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको निधन भयो ।

पार्टी १३औं महाधिवेशनमा रहेकै समयमा निमोनियाका कारण ७९ वर्षीय कोइरालाको निधन भएको हो ।

कोइरालाको निधनकै कारण कांग्रेसले महाधिवेशनको निर्वाचन प्रक्रिया केही समय स्थगित नै गर्नुपर्‍यो ।

साउन २५ मा वरिष्ठ राजनीतिज्ञ एवं साहित्यकार राजेश्वर देवकोटाको ८६ वर्षको उमेरमा निधन भयो ।

गोरखामा जन्मेर २००४ सालको जयतु संस्कृतम् आन्दोलनमार्फत् राजनीति सुरु गरेका देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष, सांसद र मन्त्रीसमेत बनेका थिए ।

यसै वर्षको असोज १६ मा राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरूङको निधन भयो भने फागुन ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री गिरिबहादुर केसीको निधन भयो ।

यसै वर्षको कात्तिक ७ मा वरिष्ठ अधिवक्ता गणेशराज शर्माको ७९ वर्षको उमेरमा निधन भयो ।

दुई वर्षदेखि बिर्सने रोगबाट पीडित शर्मा विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तका संकलक तथा पञ्चायतकालमा बीपीविरुद्ध लगाइएको मुद्दामा उनको तर्फबाट वकिलसमेत थिए ।

यसै वर्षको माघ २० मा चौधरीग्रुपका संस्थापक लुनकरणदास चौधरीको ९३ वर्षको उमेरमा निधन भयो ।

१९७९ सालमा काठमाडौंको मखनटोलमा जन्मिएका चौधरीको उपचारकाक्रममा नर्भिक अस्पतालमा निधन भएको हो ।

यसैगरी, अर्का व्यवसायी बनवारीलाल मित्तलको मंसिर ८ मा मृत्यु भयो । उनी नेपालको सबैभन्दा ठूलो हेलिकोप्टर कम्पनी श्री एअरलाइन्सका अध्यक्ष थिए । ७९ वर्षीय मित्तलले दुईपटक नेपाल चेम्बर अफ कमर्सको नेतृत्व सम्हालेका थिए भने नेपाल निर्माण व्यवसायी महासंघको संस्थापक अध्यक्ष थिए ।

भदौ ४ मा पूर्वीय दर्शन तथा वेद–वेदान्तका ज्ञाता स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा मृत्यु भयो ।

पशुपतिको मृगस्थलीमा बस्दै आएका प्रपन्नाचार्य वि. सं. १९७९ सालमा पाँचथरको फिदिममा जन्मिएका थिए ।

वर्षको अन्त्यतिर अर्थात् चैत २४ मा नेपाली सेनाका पूर्वप्रधानसेनापति गडुल शम्शेर जबराको ८० वर्षको उमेरमा निधन भयो ।

२०४८ साल जेठ १ गते प्रधानसेनापतिमा नियुक्त भएका उनी २०५२ सालमा सेवानिवृत भएका थिए ।