५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरु


0
Shares

काठमाडौं, वैशाख २ । सेतो मच्छिन्द्रनाथको रथयात्रा विहीबारदेखि सुरु भएको छ ।

जमलस्थित तीनधारा पाठशालाअगाडि रथारोहण गराएपछि नौतले रथयात्रा सुरु भएको हो ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन जनबहालबाट मच्छिन्द्रनाथको मूर्तिलाई खटमा ल्याएर रथारोहण गराउने गरिन्छ । जात्राको पहिलो दिन रथलाई रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ ।

बृद्धबृद्धाहरुलाई दर्शन गराउनका लागि आर्य अवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई रथमा नगरपरिक्रमा गराउने चलन छ ।

किंबदन्तीअनुसार परापूर्वकालमा जमल क्षेत्रको खेतमा एकजना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेलापारेका थिए ।

उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याइ जनबहालमा स्थापना गरिएको किंम्बदन्ती छ । सोही परम्पराअुनसार जमलमै रथ बनाउने गरिएको हो ।

काठमाडौंको जनबाहल र काभ्रेको नालामा रहेको सेतो मच्छिन्द्रनाथ तथा ललितपुर बुंगमती र चोभारको रातो मच्छिन्द्रनाथ गरी नेपालमा चारओटा मच्छिन्द्रनाथ रहेका छन् ।

धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्ध महायन तथा बज्रयान सम्प्रदायले आर्य अवलोकितेश्वरकोरुपमा पुज्ने गर्दछन् ।

लगनटोलस्थित मच्छिन्द्रनाथकी आमाको मन्दिर परिक्रमा गराइसकेपछि रथयात्रा सम्पन्न हुन्छ ।