
भक्तपुर, वैशाख २ । भक्तपुरस्थित मध्यपुर थिमीको बोडेमा विहीबार जिब्रो छेड्ने जात्रा मनाइएको छ ।
प्रत्येक वर्ष वैशाख २ गते मनाइने जात्रामा यस वर्ष पनि थिमी बोडे–१ का ३७ वर्षीय जुजुभाइ बाँसश्रेष्ठले जिब्रो छेडाए ।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्रांगणमा लिंगो उठाएपछि निराहार ब्रत बसेका जुजुभाइले आठौंपटक जिब्रो छेडाएका हुन् ।
बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले बाँसश्रेष्ठले जिब्रो छेडाएका हुन् ।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात् महाद्वीप बोकेर टोलटोल घुमेका श्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिमा ठोकिने परम्परा रहेको छ ।
सुइरो निकालेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो लगाएपछि घाउ निको हुने र त्यसमा अन्य औषधि लागाउने चलन छैन ।
मन्दिरको माटोले नै घाउ निको हुने जनविश्वास रहिआएको छ । जिब्रो छेड्ने जात्रालाई सहकालको देवताकोरुपमासमेत मान्ने गरिन्छ ।
रोगब्याध नलागोस्, बालीनाली सप्रियोस्, खडेरी नपरोस् र सबै जनताले सुख पाउन् भन्ने प्रार्थनास्वरुप सहकालको देवताको पूजा गरिएको जनविश्वास रहेको छ ।
बाँसश्रेष्ठले यस वर्ष पनि संस्कृतिलाई जीवन्त राख्न आठौंपटक जिब्रो छेडाएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्